महालक्ष्मी विकास बैंकद्वारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात


काठमाडौं – ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपाल भित्रै क्यूआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको सुरुवात गरेको छ। यस प्रकारको सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको हो। यस सुविधाको शुरुवातसँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरुमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

विशेष गरी चिन लगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरू यस सुविधाबाट लाभान्वित हुनेछन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ। सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वका सबैभन्दा ठुला भुक्तानी सेवा प्रदायकमध्ये एक हो जसको ९.६ अर्ब भन्दा बढी कार्डहरू जारी भएका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ। यस सेवाको सुरुवातसँगै हाल नेपालमा प्रदान भइरहेको क्युआर पूर्वाधार अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ। साथै, बैंक डिजिटल नवप्रर्वद्धनलाई अझ सुरक्षित, प्रभावकारी तथा समावेशी बनाउन बैक प्रतिबद्ध रहेको छ।

हालै मात्र बैकले वर्ष २०८३ लाई डिजिटल प्रवर्द्धन वर्षको रूपमा मनाउने बैंककाे योजना अनुरुप मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत बैकका सबै सक्रिय मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ्ग प्लेटफर्म मार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोला प्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्न सक्ने सुविधा समेत बैंकले घोषणा गरेको छ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरू रहेका छन्।