पुनर्कर्जाका लागि आवेदन दिने समय थपियो, ५ प्रतिशतमै ऋण पाइने

पुनर्कर्जाका लागि आवेदन दिने समय थपियो, ५ प्रतिशतमै ऋण पाइने


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन  दिने समय बढाएको छ। कार्यविधि तयार पारेपछि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक प्रस्ताव आह्वान गरेको थियो। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट असोज १४ गतेसम्म प्रस्ताव बुझाइसक्नु पर्ने भनेको थियो । तर, कोरोना संक्रमण झनै बढेपछि थपिएको निषेधाज्ञाले ग्राहकले निवेदन दिन नपाएको हुनाले समय थप गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

बैंकहरुले सोमबारसम्ममा कुनै पनि निवेदन नदिएको बताउदै कार्यकारी निर्देशक देवकुमारमा ढकालले भने,“लकडाउन र निषेधाज्ञाले ग्राहकले पुनरकर्जाका लागि निवेदन दिन नआएको हुनाले असोजको महिनासम्मका लागि समग थप गरिएको हो ।” बैंक वित्तीय संस्थाले पनि ग्राहकबाट निवेदन आह्वान गरिसकेको भएपछि केन्द्रीय बैंकमा भने नबुझाएको उनले बताए ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा पुनर्कर्जा उपलब्ध गराउँछ। राष्ट्र बैंकले एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि प्रस्ताव आह्वान गरेको हो। 

यस्तो पुनर्कर्जा कोभिड-१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ। बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने छ।

प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने छ। पुनर्कर्जाको ब्याज दर कम्तिमा ३ र बढीमा ५ प्रतिशत हुनेछ।