नेपालमा ‘लक्सगो’ एप सार्वजनिक, सुरक्षित र स्वदेशी राइड–सेयरिङ सेवामा जोड


काठमाडौं – नेपालमा नयाँ राइड–सेयरिङ प्लेटफर्म ‘लक्सगो’ एप सार्वजनिक गरिएको छ। स्वदेशमै विकास गरिएको उक्त एपले यात्रु, चालक तथा व्यवसायीहरूलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

डाटा सुरक्षा र स्वदेशी प्रविधिमा प्राथमिकता एप सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्ताको व्यक्तिगत विवरण तथा डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ। विदेशी प्लेटफर्ममा डाटा बाहिर जाने जोखिमलाई ध्यानमा राख्दै ‘लक्सगो’ ले नेपालमै सुरक्षित रूपमा डाटा व्यवस्थापन गर्ने दाबी गरेको छ। कम्पनीका अनुसार एपमा  GPS तथा आधुनिक प्रविधिको प्रयोग गरी यात्रु र चालक दुवैलाई सुरक्षित र विश्वसनीय सेवा प्रदान गरिनेछ।

चालक र प्रयोगकर्तालाई आकर्षक सुविधा लक्सगो एपमार्फत प्रयोगकर्ताले सहज रूपमा सवारी बुक गर्न सक्नेछन् । Normal, Comfort र Premium Luxury जस्ता विभिन्न सेवाको विकल्प उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस्तै, ग्राहकलाई छुट, विशेष अफर तथा लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसरसमेत प्रदान गरिनेछ। उत्कृष्ट सेवा दिने चालकलाई मासिक रूपमा सम्मान तथा प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ।

सामाजिक उत्तरदायित्व र सहुलियत एपले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतका समूहलाई विशेष छुटको व्यवस्था गर्ने जनाएको छ। साथै चालक र व्यवसायीहरूको आम्दानी वृद्धि तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ। कम्पनीले चालकहरूको सामाजिक सुरक्षामा समेत ध्यान दिँदै बीमा, आपतकालीन सहयोग तथा दुर्घटनामा आर्थिक सहयोग प्रदान गर्ने नीति अघि सारेको छ।

आम्दानी र दीर्घकालीन सुरक्षा योजना लक्सगोले चालकहरूको आम्दानीलाई व्यवस्थित बनाउन कमिसन प्रणाली पारदर्शी बनाउने जनाएको छ। साथै चालकहरूको भविष्य सुरक्षित गर्न ‘रिटायरमेन्ट तथा बचत कोष’ जस्ता योजनाहरू पनि ल्याइने उल्लेख गरिएको छ।

डिजिटल अर्थतन्त्रमा योगदानको अपेक्षा कम्पनीले स्वदेशी एपमार्फत नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने, देशभित्रै लगानी र आम्दानीको चक्र सिर्जना गर्ने तथा बाह्य निर्भरता घटाउने लक्ष्य लिएको छ। लक्सगो एपको सुरुवातसँगै नेपालमा राइड–सेयरिङ क्षेत्रमा नयाँ प्रतिस्पर्धा थपिने र प्रयोगकर्ताले थप सुरक्षित, भरपर्दो तथा विकल्पयुक्त सेवा पाउने अपेक्षा गरिएको छ।

सञ्चालक समिति लक्सगो प्राइभेट लिमिटेडको सञ्चालक समितिमा पाण्डव राज अर्याल अध्यक्षका रूपमा रहेका छन् भने राजन कुमार सापकोटा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । यसैगरी, गोविन्द न्यौपाने, बद्री बस्नेत, राजु श्रेष्ठ र निरज श्रेष्ठ सञ्चालकका रूपमा रहेका छन्। बिमल श्रेष्ठले सञ्चालक तथा कानुनी सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन्। कम्पनीले अनुभवी तथा विविध क्षेत्रका व्यक्तित्वहरूको नेतृत्वमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।