बीमा प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेललाई प्रश्न: नेपालको पुनर्बीमा क्षेत्र संकटमा परेको हो ?


पुनर्बीमा क्षेत्रमा पछिल्ला घटनाक्रमले अस्थिरता र संकटको संकेत देखाएको छ। हिल्टन होटलसँग जोडिएको क्लेम विवाददेखि हिमालयन रि र नेपाल रिसँग सम्बन्धित प्रकरणमा अनुसन्धान निकायहरू सक्रिय हुँदा क्षेत्रमै संकटको बहस चर्किएको छ। सञ्चालकहरूको पक्राउ, नेतृत्व परिवर्तन र नियामकको भूमिकामाथि उठेका प्रश्नबीच वास्तविक अवस्था के हो भन्ने जिज्ञासा बढ्दो छ। यही सन्दर्भमा पुनर्बीमा क्षेत्रको वर्तमान अवस्था, नियामकको सुपरिवेक्षण र चलिरहेका अनुसन्धानबारे नेपाल बीमा प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेलसँग गरिएको छोटो कुराकानी:

पुनर्बीमा क्षेत्रको पछिल्लो अवस्था नेपाल रि र हिमालयन रिसँग जोडिएका विवादका कारण क्षेत्रमै संकट देखिन थालेको हो कि भन्ने संकेत देखिएको। तपाईँले कसरी हेर्नुभएको छ ?
संकट भन्न मिल्ने अवस्था त आएको देखिन्छ, तर त्यसलाई पूर्ण रूपमा नियामकको कमजोरी भनेर मात्रै भन्न मिल्दैन।

हिल्टन होटलसँग सम्बन्धित पुनर्बीमा क्लेमबारे अख्तियारले अनुसन्धान थालेको छ। पछिल्लो समय हिमालयन रिका सञ्चालकहरूमाथिको अनुसन्धानमा सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पनि सक्रिय देखिन्छन्। नियामकको सुपरिवेक्षण कमजोर भएर अनुसन्धान निकाय सक्रिय भएको होकि ?
त्यसरी सीधा निष्कर्ष निकाल्न मिल्दैन। हामीले नियमित रूपमा निरीक्षण (इन्स्पेक्सन) गर्दै आएका छौँ। रिपोर्टहरू पनि आएका छन् र बीमा ऐनअनुसार कारबाही पनि भएका छन्। त्यसैले सुपरिवेक्षण नै भएन भन्न मिल्ने अवस्था छैन।

तर, प्रारम्भमै समस्या नदेखिएको र पछि मात्र कारबाही भएको जस्तो देखिन्छ नि ?
केही हदसम्म त्यस्तो देखिन सक्छ। तर नियतपूर्वक अनियमितता गरिएको भए प्रारम्भमै पत्ता लगाउन सजिलो हुँदैन। पछि तथ्यहरू बाहिर आएपछि हामीले जरिवाना लगायत कारबाही गरेका छौँ।

अहिले एकै पटक विभिन्न अनुसन्धान निकाय सम्पत्ति शुद्धीकरण विभाग, सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबै सक्रिय छन्। के यसले बीमा प्राधिकरणको क्षेत्राधिकारमा हस्तक्षेप भएको मान्न सकिन्छ ?
त्यसरी भन्न मिल्दैन। सबै निकायले आफ्नो–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेका छन्। बीमा प्राधिकरणले पनि आफ्नो तर्फबाट काम गरिरहेको छ। अरू निकायले पनि आफ्नो जिम्मेवारी अनुसार अनुसन्धान गरिरहेका छन्।

अहिले पुनर्बीमा क्षेत्रमा सञ्चालकहरू पक्राउ पर्ने, अध्यक्षहरूले राजीनामा दिने जस्ता घटना देखिएका छन्। यस्तो अवस्था किन आयो ?
यो अवस्था आउनु राम्रो होइन। तर कुनै मुद्दा बाहिर आएपछि त्यसको अनुसन्धान, निरीक्षण र कारबाही क्रमशः अघि बढ्ने नै हो। अहिले देखिएको अवस्था समग्र प्रक्रियाको परिणाम हो।

हिमालयन रि जस्तो कम्पनी अनुसन्धानमा छ। यस्तो अवस्थामा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने प्रावधान छ कि ?
कानुनमा त्यस्ता व्यवस्था छन्। तर त्यसबारे निर्णय बोर्डले परिस्थितिअनुसार गर्छ। अहिले नै त्यस्तो कदम चाल्ने अवस्था पुगेको छ कि छैन भन्ने विषयमा बोर्डले आवश्यक मूल्यांकन गरिरहेको हुन्छ।

नयाँ नेतृत्व आएको छ, त्यसले सुधारको अपेक्षा राखिएको हो ?
अवश्य, नेतृत्व परिवर्तनसँगै सुधारको अपेक्षा हुन्छ। त्यसैअनुसार संस्थागत सुधारका प्रयास पनि भइरहेका छन्।

समग्रमा हेर्दा पुनर्बीमा क्षेत्रमा अहिलेको अवस्थालाई संकट भन्न मिल्छ ?
यसलाई चुनौतीपूर्ण अवस्था भन्न सकिन्छ। केही हदसम्म संकटको संकेत पनि देखिएको छ, तर सुधारका प्रयासहरू पनि सँगसँगै भइरहेका छन्।