सिद्धार्थ क्यापिटलका दुवै म्युचुअल फण्ड नाफामा, न्याभ साढे ११ रुपैयाँ

सिद्धार्थ क्यापिटलका दुवै म्युचुअल फण्ड नाफामा, न्याभ साढे ११ रुपैयाँ


बैकिङ्ग समाचार ।

सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुवै योजनाको नाफा भदौ मसान्तमा बढेको छ।

सामुहिक लगानी कोष योजना 'सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२' र 'सिद्धार्थ इक्वीटी फण्ड' को नाफा साउन मसान्तको तुलनामा करिब दुई सय प्रतिशतसम्मले बढेको हो।

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को नाफा साउन मसान्तको तुलनामा १९७.६१ प्रतिशत बढेको छ । योजनाले साउन महिनामा कुल तीन करोड ४० लाख ५३ हजार नाफा गरेकोमा ५५ लाख २२ हजार रुपैयाँ सेयर बिक्रीबाट थियो।

यस्तै, भदौमा यसले कमाएको १० करोड १३ लाख ४५ हजार नाफामा सेयर बिक्रीवापतको हिस्सा ३ करोड ४९ लाख रुपैयाँ रहेको छ। भदौमा योजनासँग बाँकी सेयर बिक्रीबाट तत्कालिन बजार मूल्यका आधारमा ७ करोड ८ लाख रुपैयाँ नाफा हुने देखाएको छ। 

यस्तै, सिद्धार्थ इक्वीटी फण्डको पनि नाफा साउनको भन्दा १६४.७५ प्रतिशतले बढेको छ। यसले भदौमा १७ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। जबकि, साउनमा यो करिब ६ करोड ७९ लाख रुपैयाँ थियो।

यो नाफामा सेयर बिक्री वापतको आर्जन पनि समेटिएको छ। योजनाले भदौमा करिब ४ करोड रुपैयाँको सेयर बिकी गरेको थियो भने साउनमा यो ६६ लाख ४७ हजार रुपैयाँ थियो। यस्तै, भदौसम्ममा बाँकी सेयर बिक्रीबाट पनि १४ करोड ५१ लाख रुपैयाँभन्दा बढी नाफा हुने योजनाले देखाएको छ।

म्युचुअल फण्ड योजनाहरुले सेयर बिक्रीवापतको र बाँकी सेयर बिक्री गर्दा हुने नाफा समेत कुल नाफामा देखाउने गरेका हुन्छन्। यसकारण पनि यिनको मासिक नाफा नै पनि उच्च देखिएको हो।

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ को साउन महिनामा १० रुपैयाँ ७८ पैसा रहेको प्रतिएकाइ खुद सम्पत्ति मूल्य (न्याभ) भदौमा ११ रुपैयाँ ४२ पैसा पुगेको छ। भदौ मसान्तसम्म योजनाले सूचीकृत सेयरमा ९८ करोड ९८ लाख ८९ हजार लगानी गरेको छ। 

यस्तै,  सिद्धार्थ इक्वीटी फण्डको न्याभ भदौ मसान्तसम्म आइपुग्दा प्रतिइकाई ११ रुपैयाँ ४८ पैसा कायम भएको छ। साउनमा योजनाको न्याभ १० रुपैयाँ ७४ पैसा थियो।

यस योजनाले भदौसम्ममा सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी १ अर्ब ३१ करोड ९१ लाख ९५ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो महिनाको भन्दा ४.७३५ ले बढी हो।  योजनाले सबैभन्दा धेरै नेपाल बैंकको सेयरमा लगानी गरेको छ। नेपाल बैंकको ३ लाख २२ हजार ८७४ कित्ता सेयरमा ९ करोड ९४ लाख ४५ हजार रुपैयाँ लगानी गरिएको हो।