राष्ट्र बैंकसँग ८ वाणिज्य बैंकद्वारा साधारणसभाको अनुमति माग, अधिकांश कर्मचारीलाई कोरोेना लागेपछि काम प्रभावित

राष्ट्र बैंकसँग ८ वाणिज्य बैंकद्वारा साधारणसभाको अनुमति माग, अधिकांश कर्मचारीलाई कोरोेना लागेपछि काम प्रभावित


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकमा ८ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/७७ को वित्तीय प्रतिवेदन बुझाउँदै वार्षिक साधारणसभा अनुमति माग गरेका छन्। 

राष्ट्र बैंक स्रोतका अनुसार एनआईसी एसिया, सानिमा, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंक सुपरिवेक्षण विभागमा वित्तीय प्रतिवेदन पठाउँदै वार्षिक साधारणसभाको अनुमति मागेका हुन्। तीमध्ये माछापुच्छ्रे बैंकले साधारणसभाको ‘प्रि–अप्रुभल’ पाइसकेको छ। अब अन्तिम स्वीकृति लिन मात्र बांकि रहेको राष्ट्र बैंकले जनाएको छ। 

साधारणसभाका लागि स्वीकृति दिनुअघि बैंकहरुको प्रतिवेदन अध्ययन गर्नुपर्ने हुन्छ। तर राष्ट्र बैंक सुपरिवेक्षण विभागका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँको काम प्रभावित भएको छ। 

‘डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि गभर्नर महाप्रसाद अधिकारी, अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी लगायतका कतिपय विभागीय प्रमुखहरु घरैमा ‘आइसोलेसन’ मा छन्। तैपनि कतिपयले घरैबाट राष्ट्र बैंकको कामहरु गरिरहेका छन्।’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘संक्रमण भेटिएपछि तीन दिनदेखि विभाग नै सिल गरिएको छ। त्यसैले पनि काम रोकियो।’
कोरोना संक्रमणका कारण स्वभाविक गतिमा काम हुन नसकेको स्रोतको दावी छ । सामान्य अवस्थामा यतिबेलासम्म लगभग एक दर्जन बैंकले राष्ट्र बैंकलाई प्रतिवेदन बुझाइसक्थे। यसपाली उनीहरुले पनि बुझाउन सकेका छैनन्।

दशैं ढिला भएका बेला सामान्य अवस्थामा करिब दर्जन बैंकले साधारणसभा गरेर सेयरधनीलाई लाभांश बाँडिसक्थे। करिब १०/१२ बैंकले तिहारअघि साधारणसभा सक्थे। अनुमति दिने निकायकै कर्मचारीहरू धमाधम आइसोलेसनमा बसेपछि छिटै साधारणसभा सक्ने तयारीमा रहेका वित्तीय संस्था पनि प्रभावित हुने देखिएको छ।