एसिडपीडित ३ युवतीलाई कुमारी बैंकमा जागिर

एसिडपीडित ३ युवतीलाई कुमारी बैंकमा जागिर


बैकिङ्ग समाचार ।
एसिड आक्रमणबाट पीडित तीन युवतीले कुमारी बैंक लिमिटेडमा रोजगारी पाएका छन्।

बैंकले एसिडपीडित दुई युवतीलाई काठमाडौंमा र एक हेटौँडामा रोजगारीको व्यवस्था गरेको हो। बैंकले तीनै जनालाई मार्केटिङ अफिसरका रुपमा नियुक्त गरेको हो ।  

रोजगार पाउनेमा हेटौँडाकी विन्दवासिनी कंसाकार र काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगर छन्। तीनै जनाले असोज १ गतेबाटै गणना हुने गरी रोजगारी पाएको बैंकले जनाएको छ। 

काठमाडौंमा कालोपुलमा गत वर्ष जेठ २ गते काभ्रे फूलबारीकी जेनीमाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड छ्यापेका थिए। संगीता मगरलाई भने एसएलसी परीक्षाको तयारीका लागि ट्युसन जान लाग्दा २०७१ फागुन १० गते बिहान रामेछाप फुलासीका जीवन विकले बसन्तपुर एसिड प्रहार गरेका थिए। 

हेटौँडाकी कंसाकारमाथि भने २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला भारत महारजगन्जका दिलीपराज केशीले एसिड आक्रमण गरेका थिए। 

एसिडपीडित युवतीहरुलाई कुमारीले बैंकले अधिकृतसरहको रोजगारी दिएर उनीहरुलाई समाजमा पुनःस्थापना हुने अवसर सिर्जना गरेको अभियान्ताहरु बताउँछन्। यसले उनीहरुमाथि अपराधविरुद्ध लड्न अझै हौसला प्राप्त हुने उनीहरुको बुझाइ छ। 

मन्त्रिपरिषद्को बैठकले गत बिहीबार नै एसिड आक्रमणका घटनामा संलग्नहरुलाई अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा पीडितको उपचार खर्च भराउने कानुन पारित गरेको छ।