जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै १ लाख आवेदन

जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै १ लाख आवेदन


बैकिङ्ग समाचार ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपिओ) मा पहिलो दिनमै १ लाख जना बढीको आवेदन परेको छ ।

इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुसार १ लाख बढी आवेदकबाट ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर माग भएको हो ।

यो संख्या कम्पनीले सर्वसाधारणमा जारी गरेको (२७ लाख ३० हजार कित्ता) भन्दा ४ लाख ७० हजार (१७.२२ प्रतिशत) बढी कित्ता शेयरका लागि भएको माग आवेदन परेको हो ।

कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाएर २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो।

अहिलेको बाँडफाँट प्रणाली अनुसार सो शेयर कुल २ लाख ७३ हजार जनालाई १०–१० कित्ताको दरले वितरण हुन सम्भव हुनेछ । सोभन्दा कम आवेदक भएमा मात्रै सो शेयर २० कित्ता वा सोभन्दा बढी पाउने सम्भावना हुन्छ ।

तर, आईपीओ आवेदनको इतिहास हेर्दा पछिल्लो दिनमा कुनै पनि शेयरमा योभन्दा कम आवेदन परेको नदेखिएका कारण यो शेयरमा पनि १० कित्ता भन्दा बढी बाँडफाँट हुने देखिँदैन ।

न्यूनतम १० कित्ता शेयर पाउन पनि गोलाप्रथाको सामना गर्नुपर्ने कम्पनीको आईपीओमा १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । आइपीओमा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट असोज १४ गते बुधबारसम्म आवेदन गर्न सकिनेछ ।

यस्तो छ इन्स्योरेन्सको समग्र अवस्था

२ वर्षअघि स्थापित जनरल इन्स्योरेन्सले हाल देशभरका ३९ शाखामार्फत् देशभर कारोबार सञ्चालन गर्दै आएको छ । जनरलले आर्थिक वर्ष २०७५/७६ मा ३३ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेर पनि घाटामा रहेको कम्पनीले २०७६/७७ मा भने २.२५ रुपैयाँ बराबरको प्रतिशेयर आम्दानी गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

आगामी ३ वर्षभित्र इन्स्योरेन्सले ३० रुपैयाँ प्रतिशेयर आम्दानी हासिल गर्ने लक्ष्य लिएको छ । गतवर्ष १०१.६ रुपैयाँ नेटवर्थ भएको कम्पनीको शेयर १ सय १ रुपैयाँदेखि ३ सय ५ रुपैयाँसम्ममा कारोबार हुन सक्नेछ । जनरल इन्स्योरेन्सको समकालीन कम्पनीको रुपमा आएको अजोड इन्स्योरेन्सको शेयर अहिले दोस्रो बजारमा ५ सय रुपैंया भन्दा धेरैमा कारोबार भइरहेको छ ।