लघुवित्तलाई लाभांश वितरणमा कडाइः १० वर्षसम्म लाभांश लिन नजाने सेयरधनीको पैसा बैकिङ्ग विकास कोषमा जाने

लघुवित्तलाई लाभांश वितरणमा कडाइः १० वर्षसम्म लाभांश लिन नजाने सेयरधनीको पैसा बैकिङ्ग विकास कोषमा जाने


बैकिङ्ग समाचार । 

न्युनतम पुँजीकोष कायम गर्न नसक्ने लघुवित्तहरुलाई लाभांश वितरणमा रोक लगाएको छ । राष्ट्र बैंकले बिहीबार लघुवित्त संस्थाका नाममा सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  यसअघि वर्षको अन्त्यमा तोकिएको न्यूनतम पुँजीकोष पुर्याएकाले पनि लाभांश वितरण गर्न पाउँथे । 

लघुवित्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम गर्न नसकेको भए पनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस शेयर घोषणा र वितरण गर्न नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब लघुवित्त संस्थाहरुले न्यूनतम पूँजीकोष कायम गरेपछि मात्रै लाभांश वितरण गर्न सक्नेछन् ।

यसअघिको व्यवस्था अनुसार आर्थिक वर्षको अन्त्यमा वाह्य लेखा परीक्षकबाट प्रमाणित वित्तीय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम भएको आधारमा बोनस शेयर घोषणा र वितरण गर्न पाउने व्यवस्था थियो ।

यस्तै, लघुवित्त कम्पनीहरुको लाभांश १० वर्षसम्म पनि लिन नजाने सेयरधनीको पैसा अब बैकिङ्ग विकास कोषमा जम्मा हुने भएको छ । यसअघि ५ वर्षसम्म लाभांश लिन नजाने लगानीकर्ताको पैसा केन्द्रीय बैंकले तोकेको खातामा जम्मा गर्नुपर्ने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई यसअघि जारी गरेको निर्देशन २०७६ संशोधन गर्दै अहिले नयाँ व्यवस्था गरेको हो ।