प्राधिकरणले गर्यो ५२ जना अभिकर्ताको परिक्षा रद्ध, तीन महिनासम्म परिक्षामा सामेल हुन नपाउने


काठमाडौं – नेपाल बीमा प्राधिकरणले ५२ जना बीमा अभिकर्ताको परिक्षा रद्ध गरेको छ । प्राधिकरणले विभिन्न बीमा कम्पनीका अभिकर्ताहरुको परिक्षा रद्ध गरेको हो ।

प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षामा परीक्षार्थीहरुले आईआरएमआईएस प्रणालिमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भएको पाइएको हो । फरक व्यक्तिले परीक्षा दिँदै गरेकोमा प्राधिकरणले बीमकहरुलाई स्पस्टीकरण समेत माग गरेको थियो ।

तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) बमोजिम परीक्षा रद्द गरेको हो । अबको तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी परीक्षार्थीहरुलाई कारबाही गरेको प्राधिकरणले जनाएको छ ।