नक्कली नोटको बिगबिगी: १२ लाखसहित दुई पक्राउ, मुख्य अभियुक्त फरार

नक्कली नोटको बिगबिगी: १२ लाखसहित दुई पक्राउ, मुख्य अभियुक्त फरार


बैकिङ्ग समाचार । 

बारा प्रहरीले १२ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका ५ सिघासनीका २३ वर्षका  बलिराम चौधरी  र भारतको बिहारस्थित मोत्तिहारी जिल्ला झरोखरका २७ वर्षका सन्दीप कुमार रहेका छन् ।

प्रहरीले उनीहरुबाट बा. ६४ प ९७०६ नम्बरको मोटर साइकलसमेत जफत गरेको जनाएको छ । बुधबार सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया नहरस्थित चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले दुबै जनालाई रोकी चेकजाँच गर्दा सन्दीपले बोकेको झोलाभित्र रातो प्लाष्टिकमा नेपाली १ हजार रुपैयाँका नक्कली नोट थान १ हजार २ सय १६ थान बरामद भएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका दुवै जनालाई एक अज्ञात व्यक्तिले ३० वटा चोरीको मोबाइल खरिद गरी उक्त रकम दिएको भन्ने कुरा खुल्न आएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

मोबाइल खरिद गरेर नक्कली नोट दिने व्यक्ति भने फरार भएका छन् । नक्कली नोटसहित पक्राउ परेका दुबै जनालाई नोट सहित प्रहरी हिरासतमा राखिएको र नोट दिने व्यक्तिको खोजी कार्या भइरहेको मिश्रले बताए ।

यो घटनाले बारा र सीमा क्षेत्रमा नक्कली नोटको अबैध कारोबारको बिगबिगी बढदै गएको स्पष्ट भएको प्रहरीको भनाई छ । प्रहरी स्रोतका अनुसार बारा प्रहरीले अहिले भारतबाट चोरी गरी नक्कली नोट दिएर खरिद गरी फरार भएको मुख्य अभियुक्तलाई खोजी गरी नक्कली नोटका सञ्जाललाई क्रयाक गर्न खोजेको छ ।