ढटुवा सभिल बैंकः सेयर मूल्य बढाउनकै लागि मर्जरको हल्ला !

ढटुवा सभिल बैंकः सेयर मूल्य बढाउनकै लागि मर्जरको हल्ला !


बैकिङ्ग समाचार। 

सिभिल बैंकले आफूलाई प्राप्ति गर्न भन्दै हिमालयन बैंकलाई आग्रह गरेको चर्चा चलेपछि आइतबार सो कम्पनीको सेयर मूल्य ९ प्रतिशतसम्म बढेको छ । 

बजारमा सूचीकृत वाणिज्य बैंकमध्ये सिभिलको सेयर सबैभन्दा सस्तो छ। आइतबार कारोबार हुँदा ९ प्रतिशतसम्म बढेर प्रतिकित्ता १६५ रुपैयाँसम्म पुगेको सो बैंकको मूल्य कारोबार बन्द हुँदा भने १५७ मा झरेको थियो । अघिल्लो दिन कारोबार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १५० रुपैयाँ थियो।

सिभिलले हिमालयन बैंकलाई प्राप्तिका लागि गरेको आग्रह कसरी चुहावट भयो या यो झुटो हो भन्ने कुरा नेप्सेलाई भने जानकारी नै दिइएन। यस विषयमा सिभिल बैंकले सेयर मूल्य बढाउनकै लागि चलखेल गरेको हुनसक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दावी छ । ‘सेयर मूल्य बढाउने नियतका साथ हल्ला गरिएको देखियो, जुन गैर कानूनी हो’ नेप्से स्रोतले भन्यो ।

सेयर बजारमा असर पर्ने कुनै निर्णय भएमा नेप्सेलाई तुरुन्तै जानकारी गराउनु पर्ने व्यवस्था छ । यसरी कुनै बैंकले मर्जरमा जाने निर्णय वा सहमति गरे नेप्सेलाई तत्कालै जानकारी गराउनु पर्ने र नेप्सेले कारोबार रोक्का गर्नुपर्ने हुन्छ । तर नेप्सेलाई जानकारी नै नदिई सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले मर्जरको हल्ला फैलाएका थिए ।

जसलाई नेप्सेले शंकाको घेरामा राख्दै कारबाही प्रक्रिया शुरु गरेको छ । नेप्सेले आइतबार नै पत्राचार गर्दै सिभिललाई तत्कालै स्पष्टिकरण बुझाउन अल्टिमेटम दिएको छ । नेप्सेले धितोपत्र ऐन, २०६३ को दफा(४८) १ अनुसार भोलि कारोबार खुल्नु भन्दा अगाडि नै जवाफ पेश गर्न भनेको छ ।

भोलि कारोबार खुल्नुभन्दा अगाडि नै जवाफ पेश नगरेर नेप्सेले आवश्यक कानूनी कारबाही हुने चेतावनी समेत सिभिल बैंकलाई दिएको छ ।