निक्षेपमा साढे ९ प्रतिशतसम्म ब्याज दिँदै बैंकहरुः स्थिर ब्याजदर तोक्नुपर्ने राष्ट्र बैंकको नितिले टाउको दुखाई 

निक्षेपमा साढे ९ प्रतिशतसम्म ब्याज दिँदै बैंकहरुः स्थिर ब्याजदर तोक्नुपर्ने राष्ट्र बैंकको नितिले टाउको दुखाई 


बैकिङ्ग समाचार।
बैंकमा लगानीयोग्य रकम (तरलता) उच्च हुँदा पनि बैंकहरुबीच निक्षेप संकलनमा उच्च प्रतिस्पर्धा देखिएको छ । यो भन्दा अगाडि निक्षेपमा अत्यान्तै कम ब्याजदर तोक्ने गरेका बैंकहरुले वर्तमान अवस्थामा साढे ९ प्रतिशत ब्याजदरमा समेत निक्षेप संकलन गर्न थालेका छन् । 

पछिल्लो समय बैंकहरुले विज्ञापन नै प्रकाशित गरेर निक्षेप संकलन गर्न थालेका छन् । केही समय अघि केही वाणिज्य बैंकले मात्र बढी ब्याजमा निक्षेप संकनल गर्दै आएकोमा पछिल्ला दिनमा प्रायःजसो बैंकले उच्च ब्याजदर दिएर निक्षेप संकलन गर्न थालेका हुन । तर, बैंकको मुख्य काम भनेको नै थोरै ब्याजदरमा निक्षप लिने र धेरै ब्याजदरमा कर्जा प्रवाह गर्ने हो । त्यसवापत आर्जन गरेको बीचको प्रतिशत रकम बैंकको आर्जन हो । त्यसलाई स्प्रेडदर भनीन्छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकको स्प्रेडदर ४.४ प्रतिशत कायम गर्न भनेको छ । 

तर यतीबेला बैंकलाई निर्देशन दिँदै नियामक निकाय राष्ट्र बैंकले बैंकहरुले गाडी तथा घर कर्जामा स्थीर ब्याज तोक्नुपर्ने निर्देशन दिएको छ । तरलता हुँदा पनि कर्जा प्रवाह गर्न नपाएका बैंकहरुलाई भने यसले मार पुर्याएको छ । नेपाल राष्ट्र बैंकले पटक–पटक परिवर्तन गरिरहने यस्ता नीति नियमका कारण बैंकहरुलाई समस्या परेको एक बैंकरले बताउँछन् ।  ‘बैंकहरु एउटा नीति नियममा बसेर काम गर्दै आएका हुन्छन् तर राष्ट्र बैंकले समय समय विभिन्न खालका नयाँ नीति नियम ल्याईरहेको हुन्छ,’ उक्त बैंकरले भने, ‘राष्ट्र बैंकले ल्याएको नीति नियम भित्र रहनका लागि वा त्यसअनुसार चल्नका लागि पनि अहिले कर्जाको ब्याजभन्दा महंगोमा निक्षेप संकलन गर्नु परेको छ ।’

राष्ट्र बैंकले अघिल्लो हप्तामात्रै एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर (फिक्स) गर्न निर्देशन दिएको छ । तर, अहिलेकै आधारदर १५÷२० बर्षका लागि फिक्स ब्याजदरमा लगानीगर्दा बैंकहरुलाई समस्या पर्ने भएकाले पनि उक्त आधारदर वृद्धि गर्नकै लागि कतिपय बैंकहरु उच्च ब्याजदरमा निक्षेप संकलन गर्दै आएको स्रोतको बताउँछ ।  ‘अहिले वाणिज्य बैंकहरुको औसत आधारदर ७ प्रतिशतको हाराहारीमा छ,’ एक बैंकरले भने, ‘राष्ट्र बैंकको नीति अनुसार बैंकहरुले सोही आधारदरमा १५/२० बर्ष लामो स्थिर ब्याजदरमा आवधिक कर्जा प्रदान गर्न सक्दैनन् ।’

बैंकहरुले आन्तरिक रुपमा व्यवस्था गर्नका लागि बढी ब्याज दिएर निक्षेप संकलन गर्न थालेको नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । ‘राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण हाल बैंकहरुलाई ‘इन्ट्रेष्ट स्प्रेड’ व्यवस्थापन गर्न कठिन भैरहेको छ,’ उनले भने, ‘त्यसैलाई व्यवस्थापन गर्न बैंकहरुले महंगो ब्याजदरमा निक्षेप संकलन गर्दै आएका हुन् ।’ बैंकको आधार दर ब्यवस्थापन तथा राष्ट्र बैंकको निर्देशन अनुसार इन्ट्रेष्ट स्प्रेड ४.४ मा झार्नुपर्ने बाध्यता भएकाले पनि उच्च ब्याजमा निक्षेप तान्नु परेको हो ।