लकडाउनकै बीचमा नेपाल बैंकका ५ वटा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा 

लकडाउनकै बीचमा नेपाल बैंकका ५ वटा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा 


बैकिङ्ग समाचार। 
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन काउण्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरेको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

कोरोनाका कारण सामजिक दुरी कायम गरी काउण्टरको उदघाट्न गदैं नगरप्रमुख भरत शर्मा गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले गलकोटमा बि.सं २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा बिस्थापित भएको स्मरण गदैं २०७३ सालमा निकै ठुलो प्रयासले पुनस्थापना भएको बताए ।

नगरप्रमुख गैरेले नेपाल सरकारको स्वामित्वनै नेपाली जनताको स्वामित्व भएकोले नेपाल बैंक जनताको बैंक रहेको बताए । उनले नेपाल बैंक लिमिटेड गलकोट शाखा अन्तर्गतको एक्टेन्सन काउण्टरबाट समेत ग्राहकको सेवा र चाहानालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

२०३८ सालमा गलकोट शाखाको रुपमा हरिचौरबाट सेवा प्रवाह गरेको नेपाल बैक लिमिटेड राजनैतिक परिर्वतनसँगै २०५८ सालमा विस्थापित भएको थियो । २०७३ साल माघ १ गते हरिचौरमा नेपाल बैंकको पुनस्थापना भएको थियो । एक्सटेन्सन काउन्टरबाट खाता संचालन, बचत ऋण कारोबार, रेमिटेन्स सेवा सुनचादिँको कारोबार, राजश्व भुक्तानी लगाएत सेवा प्रवाह हुने शाखा प्रबन्धक देबी बोहोराले जानकारी दिए ।

लकडाउन तथा निषेधाज्ञाको हालको विषम परिस्थितिमा समेत नयाँ आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल बैंकद्वारा पाँच वटा एक्स्टेन्सन काउण्टरहरु थप गरी संचालनमा ल्याएको प्रवक्ता अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएर ।

प्रवक्ता अधिकारीका अनुसार यस अघि श्रावण २३ गते दाङ्ग जिल्लाको भरतपुरस्थित क्याम्पस चोकमा, भाद्र १ गते पोखरा लेखनाथस्थित पोखरा नर्सिङ्ग क्याम्पसमा, भाद्र १० गते काठमाण्डौंस्थित अमृत साईन्स क्याम्पसमा, भाद्र १५ गते चितवन रामपुरस्थित कृषि तथा वन बिश्वबिद्यालयमा एक्स्टेन्सन काउण्टरहरु थपगरी सेवा प्रबाह सुरु गरिएको छ ।

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकले चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य राखेको छ ।