२ महिनामा झण्डै ६५ अर्ब चालु खर्च , विकास निर्माणमा ५ अर्ब मात्रै

२ महिनामा झण्डै ६५ अर्ब चालु खर्च , विकास निर्माणमा ५ अर्ब मात्रै


बैकिङ्ग समाचार ।

सरकारी बजेट खर्चले गति लिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुइ महिना (साउन र भदौ) मा  कुल बजेट खर्च ७० अर्ब ९७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार भदौसम्म चालु खर्च ६४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

तर, पूँजीगत खर्च भने भर्खरै ४ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ मात्र रहेको छ । चालु खर्च लक्ष्यको ६.८२ प्रतिशत र पूँजीगत खर्च भने लक्ष्यको मात्र १.३ प्रतिशत खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा अपनाइएका उपायका कारण विकास निर्माणका काममा केही अवरोध पुगेको छ । 

यसले खर्चमा समेत प्रभाव पार्छ । अर्कोतर्फ साउन र भदौ महिना प्रक्रियागत रुपमा समेत काम र भुक्तानीभन्दा बढी कागजी प्रक्रियामा बित्ने गर्छ । यो दुई महिनामा वित्तीय व्यवस्थातर्फ भने १ अर्ब ५७ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल लक्ष्यको ०.९१ प्रतिशत हो ।

राजस्वतर्फ दुई महिनामा संकलन १ खर्ब नाघेको छ । दुई महिनामा कुल १ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको १०.४ प्रतिशत प्रगति हो । यो वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

दुई महिनामा भन्सार विभागले ४७ अर्ब ८३ करोड उठाएको हो भने बाँकी आन्तरिक राजस्व हो । महामारीको बीचमा समेत दुई महिनामा उठेको राजस्व संकलनको गति भने तुलनात्मक रुपमा सवल मानिएको छ  ।