बैंकहरूले असोज महिनाभित्रै गाडी र घर कर्जाको स्थीर ब्याजदर तोक्नुपर्ने

बैंकहरूले असोज महिनाभित्रै गाडी र घर कर्जाको स्थीर ब्याजदर तोक्नुपर्ने


बैकिङ्ग समाचार ।

बैंक तथा वित्तीय संस्थाहरुले एक महिनाभित्र अर्थात असोज मसान्तसम्म गाडी र घर कर्जाको स्थिर (फिक्सड्) ब्याजदर तोकिसक्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ ले गरेको व्यवस्था अनुसार पहिलो पटकका लागि असोज मसान्त भित्र गाडी र घर कर्जाको स्थीर ब्याजदर तोक्न बैंकहरुलाई निर्देशन दिएको हो । 

यस्तो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा, लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका तथा एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

केन्द्रीय बैंकले गत साता एकीकृत निर्देशिका जारी गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुनेगरी स्थीर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार बैंकहरूले आगामी १ महिनाभित्र स्थीर ब्याजदर कायम गर्नुपर्ने भएको हो ।

‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्नुपर्नेछ । यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर (फिक्सड इन्ट्रेस्ट रेट) निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

\"\"