कामना सेवा विकास बैंक र क्वेस्ट इन्टरनेसनल कलेजबीच सम्झौता

कामना सेवा विकास बैंक र क्वेस्ट इन्टरनेसनल कलेजबीच सम्झौता


बैकिङ्ग समाचार ।
कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेसनल कलेजबीच सम्झौता भएको छ । बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी बैंक र कलेजबीच सम्झौता भएको हो । कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण बस्नेत र क्वेस्ट इन्टरनेशनल कलेजका तर्फबाट प्रिन्सिपल उदय राज पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौतापछि बैंकका कर्मचारीले क्वेस्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको कलेजले जनाएको छ । यो समझदारीलाई मानव संसोधन विकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडललाई पुर्दै जाने अभियानको सुरुवाती कदमको रुपमासमेत लिइएको छ । त्यस्तै बैंकले क्वेस्ट कलेजका विद्यार्थीहरुलाई इन्टरशिपको व्यवस्था गर्ने उद्देश्यले उक्त सम्झौता भएको बैंकका सिइओले जनाएका छन् ।

बैंकले देशभरी १ सय २४ वटा शाखा र केन्द्रीय कार्यालयमार्फत ९ सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । कामना सेवा विकास बैंकले २०६४ साल देखि आफ्नो वित्तीय कारोबार सुरु गरेको हो । यस्तै क्वेस्ट इन्टरनेशनल कलेजमा हाल ७ सय बढी विद्यार्थी अध्यनरत छन् । साथै क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन तर्फ बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको एउटा प्रतिष्ठित संस्था हो ।

हाल यस कलेजमा ७ सय बढी विद्यार्थी अध्यनरत छन् । कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत उक्त लक्ष्यमा योगदान पुर्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।