नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना: विश्व बैंक

नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना: विश्व बैंक


बैकिङ्ग समाचार ।

नेपालमा पछिल्लो १० वर्षमा करिब ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको नेपाल डाइग्नोस्टिक रिपोर्टले यस्तो देखाएको हो । तथापि, यसमा कोरोनाले अर्थतन्त्र र रोजगारीमा पारेको प्रभाव भने यो प्रतिवेदनले नसमेटेको विश्व बैंकले जनाएको छ ।

रिपोर्टअनुसार सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा ४० लाख थप मान्छेले रोजगारी पाएका छन् । रोजगारी सिर्जना भएपनि यो केवल ज्यालादारीमा सिमित भएको र कामदारहरुको क्षमताको सदुपयोग हुन सकेको छैन । विश्व बैंकको रिपोर्टका अनुसार कोभिड १९ को रिकभरी अवधिमा यस्तो गुणस्तरीय र स्थिर रोजगारीको आवश्यकता झन बढेर जानेछ । गएको दशकमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको उल्लेख छ ।

कृषिमा आधारित रहेको अर्थतन्त्र आधुनिक सेवामा आधारित हुँदै गएको जनाइएको छ । ‘यो संरचनात्मक संक्रमणले श्रमशक्तिलाई राम्रो अवसर सिर्जना गरेको छ’ विश्व बैंकले उल्लेख गरेको छ । यद्दपि, यसरी बढेको अवसरको फाइदा विशेषगरी गुणस्तरीय रोजगारीको अवसर महिलाका लागि उपलब्ध भइसकेको छैन । निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापार जस्ता क्षेत्रमात्र होइन विदेशमा पनि पुरुष कामदारले नै अवसर बढी पाएका छन् । तथापि, महिलाहरूले पनि पछिल्लो समय रोजगारीमा हिस्सा बढाउँदै लिएका छन् । सन् २००८ मा कुल १७% हिस्सा रहेकोमा सन् २०१८ मा २४% पुगेको छ ।
 
रिपोर्टले नेपालको रोजगार बजारमा सुधार गर्न साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्न जोड दिएको छ । स्टार्टअपको विकास रोजगारी सिर्जना गर्न महत्वपूर्ण पक्ष भएको विश्व बैंकको प्रतिवेदमा  समावेश गरिएको छ । यस्तै, व्यापार तथा लगानीका लागि वातावरण निर्माण र श्रमिकसम्बन्धी नीति नियमहरुतर्फ ध्यान दिन सुझाएको छ ।