सातामा नेप्सेः १५ सय २० अंकमा, कुल बजार पूँजीकरण ६ महिनायताकै उच्च

सातामा नेप्सेः १५ सय २० अंकमा, कुल बजार पूँजीकरण ६ महिनायताकै उच्च


बैकिङ्ग समाचार । 
यस साता नेप्से १५ सय २० दसमलव ६९ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय एक दसमलव ३८ अंकमा पुगेको छ । सोही आधारमा यो साता नेप्सेमा एक सय ९० कम्पनीहरुको कारोवार भएका छन् । सो अनुसार एक लाख ४४ हजार सात सय ९८ वटा कारोवारमा दुई करोड १८ लाख ७३ हजार एक सय ६५ कित्ता सेयर किनबेच भएको छ भने सेयर कारोवार रकम ११ अर्ब ५२ करोड ३० लाख ६३ हजार नौ सय ९४ रुपैयाँ पुगेको छ ।

यो कारोवार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले बढी हो । गत साता भने नेप्सेमा एक सय ८६ कम्पनीहरुको एक लाख ५८ हजार छ सय ५६ वटा कारोवारमा तीन करोड चार लाख ३७ हजार नौ सय ९८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १० अर्ब ४३ करोड ९९ लाख ६३ हजार नौ सय एक रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र दोस्रो दिन नेप्से घटेको थियो बाँकी दिन बढेको थियो ।

कारोबारको पहिलो दिन नेप्से १० दसमलव ४५ अंकले घटेर १४ सय ९९ दसमलव ९७ अंकमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ५४ अंकले घटेर तीन सय दुई दसमलव १९ अंकमा झरेको थियो । दोस्रो दिन पनि नेप्से १२ दसमलव १७ अंकले घटेर १४ सय ८७ दसमलव ८१ अंकमा झर्दा सेन्सिटिभ पनि तीन दसमलव ५५ अंकले घटेर दुई सय ९८ दसमलव ६४ अंकमा झरेको थियो ।

तेस्रो भने नेप्से सात दसमलव ३५ अंकले बढेर १४ सय ९५ दसमलव १५ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव ८३ अंकलेबढेर दुई सय ९९ दसमलव ४७ अंकमा पुगेको थियो । चौथो दिन नेप्से १३ दसमलव पाँच अंकले बढेर १५ सय आठ दसमलव २० अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव १९ अंकले बढेर दुई सय ९९ दसमलव ६६ अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से १२ दसमलव ४९ अंकले बढेर १५ सय २० दसमलव ६९ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ७१ अंकले बढेर तीन सय एक दसमलव ३८ अंकमा पुगेको थियो ।

साना नेप्सेमा नेपाल पुर्नबीमा कम्पनी, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर कम्पनी आदिको बढी रकम कारोवार भएका छन् । कारोवार भएको सेयर संख्यामा आधारमा भने यो साना नेपाल पुर्नबीमा कम्पनी, नागरिक लगानी कोष आदि अगाडि परेकाछन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सुचीकरण तर्फ भने यो साता घरेलु लघुबित्त बित्तीय संस्था, सिभिल लघुबित्त बित्तीय संस्था आदिको बोनस सेयर सुचीकृत भएका छन् ।