अर्थमन्त्रीको राजीनामा पछिको  पहिलो कारोबारः सवा एक घण्टामै करीब १ अर्बको कारोबार, परिसूचक ८ अंकले बढ्यो

अर्थमन्त्रीको राजीनामा पछिको  पहिलो कारोबारः सवा एक घण्टामै करीब १ अर्बको कारोबार, परिसूचक ८ अंकले बढ्यो


बैकिङ्ग समाचार ।   

साताको पहिलो कारोबार दिन आइतवार सवा घण्टाको अवधिमा रू. ९१ करोड १७ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको छ । 

अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएपछिको पहिलो कारोवार दिन लगानीकर्ताको मनोबल उच्च देखिएको छ । पछिल्लो समय पूँजीबजार विकास र विस्तारका लागि सकारात्मक भूमिका निर्वाह गरेपनि अर्थमन्त्रि खतिवडाले शुरुका दिनमा दिएको अभिव्यक्तिबाट बजार प्रभावित भएको तर्क लगानीकर्ताहरुको छ । 

लामो समयदेखि अर्थमन्त्री खतिवडाको वहिर्गमनको माग गर्दै आएका लगानीकर्ताहरु उनको राजीनामा पनि खुसी भएको आइतवारको कारोबारले देखाउँछ । यद्यपी पछिल्लो समय पूँजीबजाले भने निरन्तर गति लिदै आएको छ ।

उनको राजीनामा पश्चात अव आउँने नयाँ अर्थमन्त्रिले पूँजीबजारको थप विकास र विस्तारका लागि काम गर्ने अपेक्षा लगानीकर्ताहरुको छ । आइतवार सवा एक घण्टामा ८ दशमलव ४१ अंकको बृद्धि सहित परिसूचक १ हजार ५१८ दशमलव ८३ विन्दुमा पुगेको छ ।

यस अवधिमा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६८ अंक बढेर ३०५ दशमलव ४१ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका १२ समूहमध्य होटलको शून्य दशमलव ४३ प्रतिशत, अन्यको शून्य दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १७ प्रतिशतले परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ ।

बाँकी समूहहरुमध्ये सबैभन्दा बढी परिसूचक जलविद्युत् समूहको १ दशमलव १८ प्रतिशतले बढेको छ ।

आइतवार सवा एक घण्टाको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी शेयर खरीदविक्री भएको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको रू. १३ करोड २२ लाख ९२ हजार बराबरको शेयर कारोबार भएको हो ।