अर्थमन्त्रीबाट खतिवडा ‘आउट’, को बन्ला नयाँ अर्थमन्त्री ? 

अर्थमन्त्रीबाट खतिवडा ‘आउट’, को बन्ला नयाँ अर्थमन्त्री ? 


बैकिङ्ग समाचार । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडा पद धरापमा परेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्री बनाएपछि सुरुवातमै पार्टीभित्र विरोध भएको थियो । राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा पुगेका खतिवडाले चिट्ठा तान्ता २ वर्षको मात्र कार्यकाल परेको थियो । 

गत फागुनदेखि नै खतिवडाको निरन्रताको विषयमा नेकपामा विवाद थियो । नेकपाको सचिवालयले बामदेव गौतमलाई राष्ट्रियसभामा लग्ने निर्णय गरेको थियो । तर,ओलीले सो निर्णय कार्यान्वयन गरेनन् । 

खतिवडालाई मन्त्रीबाट राजीनामा गर्न लगाएर पुनः मन्त्रीमा नियुक्त गरेका थिए । सो अनुसार उनी २१ गतेसम्म संघीय संसद्को सदस्य नबनेमा मन्त्री पद जाने थियो ।

अर्थमन्त्रीमा खतिवडा बाहिरिने भएसँगै नेकपामा नयाँ अर्थमन्त्रीको विषय समेत चर्चामा आएको छ । बामदेव गौतमले प्रधानमन्त्री ओलीलाई उपप्रधान सहित अर्थमन्त्री बनाउन अनुरोध गरेका थिए ।

ओली बामदेवलाई राष्ट्रियसभामा लग्न तयार भएपनि अर्थमन्त्री बनाउने सम्भावना नभएको नेकपा निकट स्रोतले बताएको छ ।

ओलीले अब केही दिनमा मन्त्रीमण्डल समेत पुर्नगठन गर्नेछन् । अर्थमन्त्रीमा करिब आधा दर्जन नेताको दाबी छ । अहिलेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल आफै अर्थमन्त्रीका दावेदार हुन् । साढे २ वर्ष अगाडि ओली प्रधानमन्त्री बन्दा सुरुमा पोखरेल नै अर्थमन्त्री बन्ने र खतिवडा राज्यमन्त्री बन्ने चर्चा थियो ।

यसबाहेक नेकपामा दुईवटा अर्थमन्त्री पार्टी महासचिव बिष्णु पौडेल तथा सुरेन्द्र पाण्डे समेत अर्थमन्त्रीका दावेदार हुन् । पुरानो माओवादीबाट जर्नादन शर्मा समेत अर्थमन्त्रीको दावेदारको रुपमा रहेका छन् ।

खतिवडा अर्थमन्त्रीबाट हटेपछि प्रधानमन्त्री ओलीको पहिलो रोजाई पूर्व अर्थमन्त्री समेत रहेका पार्टीका महासचिव बिष्णु पौडेल हुनसक्ने देखिन्छन् ।