कामना सेवाले यातायात, पर्यटन तथा होटेल क्षेत्रको कर्जाको ब्याजमा छुट दिने

कामना सेवाले यातायात, पर्यटन तथा होटेल क्षेत्रको कर्जाको ब्याजमा छुट दिने


बैकिङ्ग समाचार  ।  
कामना सेवा विकास बैंकले कोभिड–१९ का कारण यातायात क्षेत्र, पर्यटन तथा होटेल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको निष्कर्ष निकाल्दै ब्याजमा छुट दिने भएको छ ।

बैंकले ती क्षेत्रअन्तर्गत व्यवसाय विस्तारका लागि कर्जा लिई कारोबार गर्दै आएका ग्राहकलाई ब्याजमा छुट दिने निर्णय गरेको हो ।

योजनाअन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको बक्यौता रकम २०७७ साल साउन मसान्तसम्म भुक्तानी गरेका ग्राहकलाई साउन महिनाको ब्याज रकममा ५० प्रतिशत छुट दिएको जनाइएको छ ।

त्यस्तै, होटेल, रेस्टुरेन्ट व्यवसायअन्तर्गत ग्राहकलाई साउन महिनाको ब्याजमा ७० प्रतिशतसम्म ब्याज छुट दिइसकेको बैंकले जनाएको छ ।

उक्त समयसीमाभित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकले साउन महिनाको तिर्नुपर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

साथै, व्यावसायिक प्रयोजनका लागि हायर पर्चेज कर्जा लिएका ग्राहकले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रयमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए । 

बैंकले देशका विभिन्न भागमा १ सय २४ शाखा तथा ६६ एटिएममार्फत बैंकिङ सुविधा दिइरहेको जनाएको छ ।