विदेशिनु बाध्यता कि विकल्प ?  

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौँ । 
विदेशिने नेपालीहरुको संख्या घट्नु सट्टा बढ्दो छ । चालु आर्थिक वर्षको पछिल्ला दुई महिनामा मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ३९ हजार १ सय ५२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६ हजार ४ सय २३ कायम भएको छ । गत वर्षको तुलनामा यो संख्यामा कमी देखिएतापनि नेपाली युवा विदेशिन रोकिएको भने छैन । गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३ सय २७ रहेको छ । तथ्यांकअनुसार नेपालबाट हरेक दिन हजारौं युवा विदेश जाने देखाएको छ । 

नेपाल बेरोजगारीको समस्याले घेरीएको छ । यहाँ वर्षेनी बेरोजगारी, कृषिबाट हुने आयमा कमी, औद्योगीकरणको अभाव, निजी क्षेत्रको व्यवसायको कमी र अन्य कारणले गर्दा सारा देश विदेश गइरहेको छ । ग्रामीण क्षेत्रमा रोजगारीको अवसरहरु खासै नहुनाले र सहरी क्षेत्रमा उचित पारिश्रमिक नपाउने तथा आर्थिक अवस्था कमजोर हुनाले वैदेशिक रोजगारीमा जाने गरेको

‘खाडी मुलुकमा हामीले बगाएको पसिनालाई हामी बाध्यता बुझ्छौं विकसित मुलुकमा बगाएको पसिनालाई भने रहर मान्ने गरेका छौं । जुन गलत हो ।’ एक विज्ञ भन्छन, ‘त्यसो त अहिले विश्व बजारमा अन्तर्राष्ट्रिय जनशक्तिको खपत व्यापक रूपमा भइरहेको पाइन्छ । नेपालको अर्थतन्त्र पनि रेमिटेन्सले धानेको छ । दैनिकजसो हुने छलफल तथा बहसमा वैदेशिक रोजगारीमा गएका नेपालीले भोगेका पीडा, शारीरिक अंगभंग हुनु परेको, मृत्यु भएको, हिंसा जस्ता विषय उठ्छन तर वैदेशिक रोजगारी जाने क्रम किन रोकिएको छैन ।’  

यता अर्थशास्त्री दिपेन्द्र बहादुर क्षत्रीले विकल्पलाई बाध्यात्मक रुपमा स्विकार गरेर वैदेशिक रोजगारीमा जाने गरेको बताएका छन । उनी भन्छन, ‘वैदेशिक रोजगारीमा जानु बाध्यता नै हो । विकल्प भैदिएको भए मान्छेहरु दुविधामा हुन्थे । दुविधा नभनी ज्यान छोडेर अहिले त रसीयन आर्मीमा पनि भर्ना हुन खोजेका छन । यसलाई कसरी विकल्प भन्ने ।’

सरकारले मात्रै वैदेशिक रोजगारीमा जाने क्रम रोक्न नसक्ने बताउँदै उनले भने, ‘सरकारले मात्रै वैदेशिक रोजगारीमा जाने क्रम कम गरेर त हुँदैन । सक्दैन पनि । अर्थ, आर्थिक क्षेत्रमा चारैतिर संलग्न हुने सबै निजी क्षेत्र समेतको यसमा सहभागिताको आवश्यकता पर्छ । सरकारले अनुकुल वातावरण बनाइदिने हो त्यसमा निजी क्षेत्रले पनि उद्यम व्यवसायीले पनि आफ्नो ढंगबाट अगाडि बढाएर लिएर जाने गर्नुपर्छ ।’ उनले थपे, ‘तरलताको अभाव हुँदा पैसा पाएनौँ मात्रै भन्ने ब्याजरको कुरै हुँदैन । अहिले बैंकिङ्ग क्षेत्रमा ४ खर्ब जस्तो रकम थुप्रिएको छ तर निजी क्षेत्रले सापटी लिइरहेको छैन । ब्याजदर बढी नै भयो भन्छ ।

यस्तै बहाना त बेलाबेला रहदो रहेछ नि । त्यसैले उत्पादनमा संलग्न भएका तत्वहरुले निर्णय नगरेसम्म काम/रोजगारी सिर्जना हुँदैन  रोजगारी सिर्जना नभएपछि त विकल्पलाई नै बाध्यात्मक रुपमा स्विकारेर गरेर विदेशिन्छन् ।’ क्षेत्री भन्छन, ‘विकल्प हो भनेर आशिंक रुपले कसरी लिन सकिएला भने ४०/५० लाख खर्च गरेर युरोपियन मुलुकतिर जानेहरुका लागि विकल्पको रुपमा लिन सकिएला तर कोरिया, मलेशिया अन्य खाडी मुलुकमा कामकै लागि यहिबाट बन्दोबस्त गरेर गएकाहरुका लागि बाध्यता हो ।’ अर्थशास्त्री क्षत्रीले सामाजिक संरचना नै हामिले ठीक बाटोमा लान नसकेका बताएका छन । उनी भन्छन, ‘एउटा त सामाजिक संरचना नै हामिले ठीक बाटोमा लान सकेका छैनौं अर्को कुरा वैदेशिक रोजगारमा गएपछी वैदेशिक रोजगार जानेका परिवारलाई निर्वाह गर्नका लागि भनेर पठाइएको पैसाको सदुपयोग कसरी गर्ने के गर्ने भन्ने बिषयमा पन पर्याप्त मात्रामा जीम्मेवारीपूर्ण तरीकाले लिन नसकेको अवस्थाको कारणले पारिवारिक सामाजिक विग्रहको अवस्था पनि सिर्जना भइरहेको देखिन्छ ।’ 

वैदेशिक रोजगारी झन जटिल हुदै गइरहेको अर्थविद्ध गोविन्द नेपालले बताएका छन् । उनले नेपाली युवाले नेपालमा बस्नमिल्ने किसमको रोजगारी नेपालमा नभएको पनि बताए । नेपालको कृषी क्षेत्र प्रविधिमैत्री भए केहि मात्रामा युवाहरु विदेशिन कम हुने उनको भनाई छ ।  उनी भन्छन, ‘अहिले वैदेशिक रोजगारी झन जटिल हुदै गइराखेको छ । वैदेशिक रोजगारी हिजोका दिनमा बाध्यता थियो अहिले के भयो भन्दा मुुलुकभित्र रोजगारीका अवसरहरु छैनन् भएका रोजगारीहरु पनि युवामैत्री भएनन् हाम्रो कृषी प्रवृधीमैत्री भइदिएको भए युवाहरु आकर्षित हुन्थे हिजोको कृषी शैलीमा त युवा आकर्षित हुदैनन् । ति सबै हिसाबले अलिकति यो भन्दा त्यो विकल्प भन्ने पनि केहि मात्रामा हुन लाग्यो ।’

राज्यले पनि युवा विदेश पठाउन खोजेको बताउँदै उनले भने, ‘राज्यले नै पनि वैदेशिक रोजगारीमा नपठाइकन विदेशी मुद्रा आर्जन गर्न नसक्ने जस्तो मानेर युवाहरु विदेश गइदिए हुन्थ्यो भनिरहेको छ  । हिजोका दिनमा विदेशिएका युवालाई देशमै रोजगारी सिर्जना गरेर स्वेदश फर्काउन प्रोत्साहन गर्ने योजना थियो । अहिलेको अवस्थामा युवाहरु पनि विदेशिन आकर्षित राज्य पनि वैदेशिक रोजगारीमा जानेलाई तालिम दिएर अलिकति दक्ष बनाएर बढी आम्दानी गर्ने बनाउनेतिर ध्यान दिइराखेको देखिन्छ ।’

यता अर्का अर्थशास्त्री डील्लीराज खनालले भने वैदेशिक रोजगारी बाध्यता नै भएको र यसलाई विकल्पको रुपमा अगाडि बढाउनुपर्ने बताउँछन । उनी भन्छन, ‘अहिलेको समयमा बाध्यता नै हो तर यसलाई विकल्पको रुपमा अगाडि बढाएर लिएर जानुपर्छ ।’ उनले भनेका छन, ‘बढ्दो विदेशिने क्रमलाई घटाएर लैजानुपर्छ । पछिल्लो समयमा जुन गतिमा विदेश जाने संख्या वृद्धि भएको छ त्यसले धेरै कुराहरुलाई  समेट्छ । पहिलो देशभित्र रोजगारी छैन । भएको रोजगार पनि त्यति प्रभाकारी छैन । अर्को  भनेको विदेशिने यृुवाहरुले पढाईसँगै आम्दानी गर्न पाउँछन् । देशमा आर्थिक समाजिक विकासको अवस्था अत्यन्तै  प्रतिकुल छ । अनुकुल छैन । रोजगारीको अवस्था छैन । आफैले व्यवसाय गर्ने वातावरण पनि छैन । यी सबै अवस्थाका कारण बाध्य भएर हाम्रा युवाहरु विदेशीन्छन ।’

खनालले नेपालमा भित्रिरहेको रेमिट्यान्सको सहि ढंगले सदुपयोग नभएको बताउँदै भने, ‘ रेमिट्यान्स आइरहेको छ तर त्यसको गलत ढंगले प्रयोग भइराको छ । आएको रेमिट्यान्सलाई ठिक ढंगले उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्ने र त्यसपछि देशभित्रका अवसरहरुको, अर्थतन्त्रले गति लिने देशमा रोजगारी सिर्जना हुने, आय–आर्जनका सम्भावनाहरु बन्ने उद्योग व्यवसाय गर्नसक्ने सम्भावनाहरु समेट्दै  रेमिट्यान्सलाई रुपान्तरण गरेर जान सक्ने गरेको भए यो अवस्था हुदैनथ्यो । देशभित्र रोजगारीको सिर्जना हुन सकेको छैन यी सब कारणले राज्य अवसरको सिर्जना गर्ने कुरामा केन्द्रित भइरहेको छ । जबसम्म अवसरको सिर्जना हुँदैन तबसम्म विदेशिएका युवा फर्किने आशा थोरै मात्रै गर्न सकियो ।’

उनका अनुसार नेपालको अहिलेको अवस्था हेर्दा युवा विदेशिने क्रम रोक्न अझ चुनौती थपिएकोे छ ।  उनी भन्छन, ‘नेपालको ज्यालादर र बाहिरको ज्यालादरमा ठुलो भिन्नता छ । हाम्रो ज्यादारको तुलनामा बाहिरको ज्यादर निकै बढी छ  । मानविय स्वभावले नै जहाँ बढी फाईदा छ मान्छे त्यही जान्छ त्यस्तो हिसाबले पनि विदेशिने क्रम रोक्न र विदेशिएकालाई स्वदेश फर्काउन हिजोको भन्दा निकै बढी चुनौती थपिएको देखिन्छ ।’

मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारले आर्थिक टेवा पु–याएको छ तर बढ्दो श्रम आप्रवासन अर्थात वैदेशिक रोजगारीको अवस्थाले गर्दा राज्यका लागि असर परिरहेको छ । यसले मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ । यसले दीर्घकालीन रूपमा बिस्तारै देशलाई घातक पनि हुन सक्छ । ऊर्जाशील र उत्पादनशील सक्षम युवा विदेशिएर गाउँको खेती बालीनालीका लागि श्रमिक अभाव भइरहेको छ ।

परिवारका सदस्य विदेशमा जानु परेकाले घरपरिवारमै पतिपत्नीबिच मनमुटाव सामाजिक विग्रहको अवस्था पनि सिर्जना भइरहेको छ । मानसिक दवावका कारण पनि युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सीप, दक्षता र क्षमता भएका श्रमशक्तिको आपूर्ति नहुनुले न्यून पारिश्रमिकमा नेपाली कामदारले काम गर्नुपरेको पनि भेटिएको छ । वैदेशिक रोजगारमा रहेको समयमा दुर्घटनामा परी अङ्गभङ्ग परी स्वदेश फर्केपछि उनीहरूको आर्थिक अवस्था झनै सङ्कटमा परेको देखिन्छ ।