सीडीएससीका नवनियुक्त सीईओ आचार्यद्धारा पद तथा गोपनियताको शपथ ग्रहण

सीडीएससीका नवनियुक्त सीईओ आचार्यद्धारा पद तथा गोपनियताको शपथ ग्रहण


बैकिङ्ग समाचार ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुर्णप्रसाद आचार्यले मंगलबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत एवं सीडीएससी संचालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले सञ्चालक समितिका सदस्यहरु उपस्थित एक समारोहका बीच आचार्यलाई मंगलबार पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। आचार्यले सीडिएससीको केन्द्रीय कार्यालय पुलडिसडक स्थित कार्यालयमा सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा समितिका अध्यक्ष चन्द्रसिंह साउद समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

सोमबार बसेको सीडीएससीको संचालक समितिको ४०३ औं बैठकको निर्णयबाट आचार्य ४ वर्ष लागि प्रमुख कार्यकारी नियुक्त भएका थिए । आचार्य कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी हुन्।

सीडीएससीका रिक्त सीइओ पदका लागि मानबहादुर खत्री, दिनेश कुमार बर्तौला, डिल्लिप्रसाद चौधरी र कृष्ण लामिछाने, पूर्णप्रसाद आचार्य, भीष्मराज चालिसे र कृष्ण गिरी समेत ७ जनाले आवेदन दिएका थिए।

सिडिएससीको सीइओको लागि परेको ७ जनाको आवेदनमध्येबाट नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिले भीष्मराज चालिसे, पुर्णप्रसाद आचार्य र कृष्ण गिरीलाई सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा परेका चालिसे र गिरीलाई पन्छाउँदै आचार्य प्रमुख कार्यकारी अधिकृत बन्न सफल बनेका थिए।

सीडीएससीको तत्कालिन सीइओ देवप्रकाश गुप्ताको कार्यकाल २०७६ असोज ९ गते ११ महिनासम्म सीडीएससीको प्रमुख पद रिक्त थियो। गुप्ताको बिदाईसँगै नेटवर्क सेक्शनको प्रमुखको कार्यभार सम्हाल्दै आएकी कञ्चन सापकोटालाई मंसिर १६ गते लागू हुनेगरी कायम मुकायमको जिम्मेवारी दिइएको थियो ।

नेपाल स्टक एक्सचेनञ्जको सहायक कम्पनीका रुपमा सन् २०१० मा सीडिएससी स्थापना गरिएको थियो । यो संस्थाको औपचारिक उद्घाटन भने सन् २०११ मार्च ३१ मा गरिएको थियो। केन्द्रीय निक्षेप प्रणालीका रुपमा यो कम्पनीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट गर्दै आइरहेको छ ।