सरकारबाट फेरि विवादित नियुक्तीः इश्वर पोखरेलका सम्धी बने राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष 

सरकारबाट फेरि विवादित नियुक्तीः इश्वर पोखरेलका सम्धी बने राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष 


बैकिङ्ग समाचार । 

देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन् ।

कोइरालालाई मन्त्री स्तरबाट गरिएको निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको हो । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।

बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् । बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिलने नै भनेर हाल सञ्चालकमात्रै नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफालगायतका सूचकका आधारमा देशकै पहिलो बैंक हो । बैंकको नेतृत्वमा नातावाद र सम्बन्धका आधारमा कुनै व्यक्तिलाई लैजानु उपयुक्त नहुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

२०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा उनी खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भए । खाद्य संस्थानपछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको जिम्मेवारी पाए । 
पटक–पटक विवादित नियुक्तीका काण्डहरुमा तानिएका उनले एमाले सरकार आउनेवित्त्किै कुनै न कुनै पद पाइहाल्थे । 
त्यसपछि एमाले सरकार हुँदा इश्वर पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका थिए । त्यसवखत पनि कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।

२०६२/६२ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । त्यसबेला त उनी झन् विवादित भएका थिए ।

त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए ।

विवादमा तानिए पनि कोइरालाले नियुक्ति भने पाइरहे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको थियो । 

विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।