नियमित बजार अनुमगन गर्दै विभाग


काठमाडौं – बजार अनुमगन नियमित गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौं र ललितपुरका विभिन्न नौ वटा उद्योग/फार्मलाई कारवाही गरेको छ।

चाडपर्वको समयमा मात्रै बजार अनुमगन गरेको भनी विगतमा आलोचना हुने गरेपछि विभागले पछिल्ला दिनमा देशव्यापी रूपमा स्थानीय प्रशासन, सरोकार भएका निकायको समन्वय र सहभागितामा निरीक्षणलाई तीव्र पारेको हो।

विभागका अनुसार ललितपुर महानगरपालिका–१५ कुमरीपाटीस्थित युएफओ पाटनलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका–१५ चमतीस्थित रेग्मी व्याग उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको कसुरमा ती फार्मलाई कारवाही गरिएको विभागले उल्लेख गरेको छ । सो दफामा बिलबिजक राख्नुपर्ने व्यवस्था छ। पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनका लागि खरिद गरेका वस्तु वा सेवाको उत्पादक वा खरिद, बिल वा बिजक आफूसँग राख्नुपर्ने व्यवस्था छ। सो व्यवस्था विपरितको गतिविधि गरेको पाइएकाले योगेन्द्र साडी भण्डारलाई कारवाही गरिएको विभागले जनाएको छ।

सोही ऐनको दफा ३९ को (१)मा बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कुनै कसुर गरेको पाइएमा पाँच हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ। सोही प्रावधान बमोजिम उक्त फँर्मलाई कारवाही गरिएको हो।

मानसरोवर इन्टरप्राइजेज र रविशङ्कर स्टोरलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। विभागले अन्य पाँच वटा फार्मलाई भने सामान्य निर्देशन दिएको छ।