घोराही सिमेन्टले लाभांश प्रस्ताव पारित गर्न बोलायो पाँचौँ वार्षिक साधारण सभा 


काठमाडौं – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार सो सभा पुस १४ गते, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटेल पौवामा सो सभा बोलाएको हो । सो सभा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट कायम हुने सञ्चालकहरूको निर्वाचन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।