पेस्तोल र रिभल्भरसहित काठमाडौंबाट ५ जना पक्राउ


काठमाडौं -काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल र सिभल्भरसहित पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट २ थान पेस्तोल र म्याग्जिन १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- २८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डप बस्ने बागलुङ ढोरपाटन नगरपालिका-३ घर भएका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो। उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडाैंमा पठाइएको छ।

त्यसैगरी काठमाडौँ, नागार्जुन नगरपालिका-६ रामकोट सिभिल होम नजिक बस्ने तनहुँ भानु नगरपालिका-९ घर भएका ४१ वर्षीय मनोज कुमार सुन्दासलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ८ राउण्डसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौं महानगरपालिका- २१ लगन डेरा गरी बस्ने भारत बिहार घर भएका १६ वर्षीय किशोरलाई रिभल्भर १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्भर फेला पारी पक्राउ गरेको हो।