रौतहट जिल्लामा बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय 

रौतहट जिल्लामा बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय 


बैकिङ्ग समाचार ।
रौतहट  । जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्था भने खोल्न दिने भएको छ । 

समुदायमा संक्रमण देखिएको भन्दै स्थानिय प्रशासनले भदौ १४ गते रातिसम्म निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था, खाद्यान्न तथा निर्माण सामग्रीका पसल खोल्न दिने र उपभोग्य खाद्यान्न सामग्रीको आपूर्तिलाई सहज गरिने निर्णय जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको छ । 

जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै प्रत्येक दिन विहान ७ बजेदेखि विहान ११ बजेसम्म स्वास्थ्य सुरक्षा अपनाएर खोल्न दिइने जनाएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको उल्लंघन गर्ने/गराउने वा कार्यान्वयनमा अवरोध गर्ने / गराउने उपर संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

समुदायमा संक्रमण देखिएको भन्दै स्थानिय प्रशासनले भदौ ७ गतेसम्म गरेको निषेधाज्ञालाई भदौ १४ गतेसम्मका लागि थप गरेको हो । 

जिल्लामा अझैपनि कोरोना भाइरसको संक्रमितहरुको संख्या  बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावना उच्च रहेकोले थप एक हप्ताका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

बैंक तथा वित्तीय संस्थाहरुको सेवा लिन तथा खाद्यान्न सामग्रीहरु खरीद गर्न जाँदा–आउँदा उपभोक्ताले सवारी साधनको प्रयोग गर्न नपाइने उनले जानकारी दिए ।

उपभोक्ताहरुले स्यानिटाइजर, मास्क तथा पन्जाको प्रयोग गर्ने र अनिवार्य भौतिक दुरी कायम गरी मात्र विक्री वितरण गर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले बताएको छ ।