सहारा विकास बैंकको संस्थापक हकप्रद बिक्री नभएपछि १५ दिन म्याद थप

सहारा विकास बैंकको संस्थापक हकप्रद बिक्री नभएपछि १५ दिन म्याद थप


बैकिङ्ग समाचार ।
सर्लाहीमा केन्द्रीय कार्यालय भएको सहारा विकास बैंकको हकप्रद शेयर लिलामी बिक्रीका लागि सोमबारसम्म तय भएको समयावधिमा सबै शेयरका लागि आवेदन नपरेपछि १५ दिनका लागि म्याद थपिएको छ।

यसअघि साउन ३० देखि भदौ ८ गतेसम्म लिलाम बढाबढमा बिक्रीमा ल्याइएको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयरमा अब भदौ २३ गते मंगलबारसम्म आवेदन दिन सकिने बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ।

बैंकले यसअघि २०७५ सालमा आवेदन माग गरेर बिक्री गर्न खोज्दा बिकेको थिएन। संस्थागत सुशासनमा कमी तथा देव: विकास बैंकसँग प्राप्ती प्रकृयामा गई प्राप्ती प्रकृया भङ्ग भएको लामो समयसम्म शेयर कारोबार रद्ध भई हालसम्म पनि फुकुवा नभएको कारण बैंकको शेयरमा आकर्षण न्यून रहेको लगानीकर्ता बताउँछन्।

अझ संस्थापक शेयरको कारोबार सर्वसाधारण शेयर सरह कारोबार गर्न पाइदैन भने विद्यमान संस्थापक शेयरधनीले नै खरीद नगरेपछि ठूलो परिमाणमा शेयर बिक्री हुन सकेको छैन।

बलियो र सबल संस्थाको शेयरहरु लिलामीमा पनि उच्च आकर्षणका साथ बिक्री हुनेगरेपनि कमजोर संस्थाका शेयर बिक्रीमा भने दुई दिन पटकसम्म आवेदन खुला गर्दापनि शेयर बिक्री हुन कठिनाई हुने गरेको छ।

इच्छुक लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्श नगर वीरगंज र गोल्छाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर,दाङ, सुर्खेत, नेपालगन्ज र धनगढी तथा सहारा विकास बैंकको मलंगवा, बरबहवा, लालबन्दी, इश्वरपुर, गोडैता सलाहीबाट आवदेन पाइनेछ।

शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ। १०० रुपैयाँमा बोलपत्र आवेदन फाराम किनी आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा खुलाउनुपर्ने छ।