कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्दै सुदूरपश्चिम क्षेत्रमा बलियो बन्यो एनएमबि बैंक  

कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्दै सुदूरपश्चिम क्षेत्रमा बलियो बन्यो एनएमबि बैंक  


बैकिङ्ग समाचार ।
एनएमबि बैंकले सुदूरपश्चिमको कञ्चन डेभलपमेण्ट बैंकलाई आफूमा गाभेर आजदेखि एकीकृत कारोबार सुरु गर्देछ ।

नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबि बैंकलाई अन्तिम स्वीकृति दिएको थियो । गत माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरीद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते अन्तिम हस्ताक्षर गरेका थिए ।

एनएमबिले कञ्चनलाई १०० कित्ता शेयर बराबर ८५ कित्ताको अनुपातमा खरीद गरेको हो ।

योसँगै कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले १०० कित्ताबराबर एनएमबि बैंकको ८५ कित्ता शेयर पाउने छन् ।

शेयर सूचीकरण भएपछि कञ्चनको शेयरलाई एनएमबिमा रुपान्तरण गरी लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिनेछ ।

कञ्चन डेभलपमेण्ट बैंक प्राप्तिपछि एनएमबि बैंकको सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति कायम भएको छ। बैंकले यसअघि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरे प्रदेश नम्बर ४ मा बलियो उपस्थिति बनाएको थियो। कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने जगेडा कोषको आकार ७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न सहज भएकोे र त्यसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा उपलब्ध गराउन मद्दत पुगेको बैंकले जनाएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५८ करोड ४४ लाख रुपैयाँ छ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

यसअघि ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबी बैंकको ७६ कित्ता शेयर आदान प्रदान गरी एनएमबी बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका थिए ।

कन्चन डेभलपमेन्ट बैंकलाई खरीद गर्न एनआईसी एशिया, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि प्रयास गरेका थिए । यी बैंकहरुले कञ्चन डेभलपमेन्ट बैंकसँग चरणवद्ध छलफल गरे पनि अन्तत एनएमबि बैंकले खरीद गरेको हो ।