एप्पलले पाँच महिनामै १० खर्ब डलर कमायो 

एप्पलले पाँच महिनामै १० खर्ब डलर कमायो 


एजेन्सी, 
अमेरिकी कम्पनी एप्पल दुई वर्षमा दोब्बर धनी भएको छ। दुई वर्षअघि १० खर्ब डलर सम्पत्ति कमाउने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको एप्पलले हालै आफ्नो सम्पत्ति बीस खर्ब डलर बनाएको छ।

कोरोना महामारीले संसारकै अर्थतन्त्र सुस्त भइरहेका बेला एप्पलले भने ठूलो छलाङ मारेको न्युयोर्क टाइम्सले जनाएको छ। एप्पलको दोस्रो दस खर्ब डलर सम्पत्ति पछिल्लो करिब पाँच महिनामा बढेको हो।

'स्थापना भएको ४२ वर्षपछि १० खर्ब डलर मूल्य छुने पहिलो कम्पनी बनेको एप्पलले दुई वर्षमै अर्को दस खर्ब डलर कमाएको छ। योसँगै एप्पलले सबभन्दा पहिले बीस खर्ब डलरको कम्पनी हुने रेकर्ड पनि बनाएको छ,' न्युयोर्क टाइम्सले लेखेको छ, 'उसले दोस्रो दस खर्ब डलर पछिल्ला २१ सातामा कमाएको हो।' 

टाइम्सका अनुसार बुधबार कम्पनीको शेयर मूल्य १.४ प्रतिशत बढेर प्रतिशेयर ४६८.६५ डलर पुगेसँगै यसको सम्पत्ति दोब्बर भएको हो।

स्टिभ जब्सले सन् १९७६ मा क्यालिफोर्नियाको ग्यारेजबाट सुरु गरेको ‘एप्पल’ संसारकै अग्रणी कम्पनी बनिसकेको छ। आफ्ना साथी स्टिभ वुजनेकसँग मिलेर स्थापना गरेको केही वर्षमै जब्स कम्पनीबाट निकालिएका थिए। उनी निकालिएपछि कम्पनीको सेयर ह्वात्तै झरेर प्रतिशेयर एक डलरमा पुगेको थियो।

सन् १९९६ मा जब्स पुनः कम्पनीमा आएपछि एप्पल फेरि नाफामा जान थालेको हो।

न्युयोर्क टाइम्सका अनुसार विगतमा आइफोन मोबाइल, म्याक कम्प्यूटर र घडी लगायत ग्याजेटबाट आम्दानी गरे पनि अहिले एप्पलले सफ्टवेयर तथा अन्य सेवा उपलब्ध गराएर लगानीकर्ताको विश्वास जित्न सकेको हो।

कोराना महामारीमा सबै थलिएका बेला २१ हप्तामै दोब्बर मूल्य छुनु कम्पनीका लागि ठूलो सफलता बनेको छ। यसले अहिलेको महामारी प्रविधि कम्पनीका लागि लाभदायक भइरहेको देखाउँछ।

बेलायती अखबार द गार्डियनका अनुसार महामारी फैलिनुअघि एप्पलले बजारी मूल्य बढाउने अपेक्षा गरेको थियो। भाग्यवश यसको सेयर मूल्य यस वर्ष पचास प्रतिशतभन्दा बढी भएको छ।

योसँगै एप्पलको मूल्य अर्को ठूलो सूचीमा पर्ने अमेरिकी कम्पनी अमेजन भन्दा ३०० बिलियन डलर बढी भएको छ।