नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, ग्राहकलाई २० प्रतिशतसम्म छुट


काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अग्रणी ई-कमर्स प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरूले दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा विशेष छुट सुविधा पाउनेछन्।

उक्त सम्झौता मिति २०८२ साल कार्तिक २३ गते सम्पन्न भएको हो। सम्झौता पत्रमा बैंकका तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार, यो योजना कार्तिक २५ देखि मंसिर ६ सम्म लागू रहनेछ। नेपाल बैंकका ग्राहकहरूले दराजमा अनलाइन सामान खरिद गर्दा  डेबिट कार्डबाट अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट र क्रेडिट कार्डबाट अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सेवा सक्रिय गराउनुपर्नेछ, जसका लागि नजिकको कुनै पनि नेपाल बैंक शाखामा सम्पर्क गर्न सकिनेछ। नेपाल बैंकले निरन्तर नयाँ प्रविधि र नवप्रवर्तनमा जोड दिँदै आएको छ।

डिजिटल भुक्तानी प्रवर्द्धन तथा ग्राहक संलग्नता विस्तारका लागि बैंकले विभिन्न ई–कमर्स प्लेटफर्महरूसँग साझेदारी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।  साथै, बैंकले ग्राहकहरूलाई क्रेडिट कार्ड आवेदन गर्न र ई–कमर्स सेवा सक्रिय गर्न आग्रह गरेको छ।