उपत्यकामा निषेधाज्ञाः आलोपालो गर्दै बैंकका कर्मचारी 

उपत्यकामा निषेधाज्ञाः आलोपालो गर्दै बैंकका कर्मचारी 


बैकिङ्ग समाचार । 
काठमाडौं उपत्याकामा भोलीदेखि निषेधाज्ञा जारी गरेपछि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालन हुने भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको मंगलबारको बैंठकले भदौ ३ गते राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा अन्तरगत पर्ने भएकाले न्यूनतम कर्मचारी राखेर आलोपालो नजिकका शाखा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

सेवाग्राहीलाइ सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा लिन पनि बैंकले आग्रह गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले पनि निषेधाज्ञामा सकेसम्म बैंक तथा वित्तीय संस्था समेत नखोल्न आग्रह गरेकाे छ । बैंक तथा वित्तीय संस्थाको हकमा मर्चुअल तथा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभएमा मात्र न्यूनतम कर्मचारी बोलाएर सेवा दिन जिल्ला प्रशासनले अनुराेध गरेकाे छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि अहिले पनि बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत मात्र कर्मचारी बोलाएर सेवा दिइरहेका छन् । कोरोना भाइरसको संत्रमण बढी देखिएका कतिपय शाखा कार्यालयहरू बन्द भएका छन् । तर, उपत्याका हकमा भने निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था बीमा सेवा पूर्ण रुपमा बन्द भने हुने छैन ।

अहिले पनि अत्यावश्यक पर्ने कर्मचारीलाई मात्र बैंकमा बोलाउने गरिएको छ । अन्य कर्मचारीलाई घरबाट नै काम भनिदै आएको छ । नेपाल बैकर्स संघले अत्यावश्यक नपरेसम्म बैंक तथा वित्तीय संस्थामा नआउनको लागि अनुरोध गरेको छ ।