दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि म्याद लिने तयारी  


काठमाडौं – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरी अनुसन्धानका लागि म्याद लिने तयारी गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईले प्रसाईँविरुद्ध थप अनुसन्धानका लागि म्याद लिन लागिएको बैंकिङ्ग समाचारलाई बताए।

प्रसाईँलाई उनले दिएको अभिव्यक्ति कारण भक्तपुरस्थित घरबाट सोमबार राति प्रहरीले पक्राउ गरेकाे थियाे। प्रसाईँले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए। सोही अनुसार तयारी पनि तीव्र पारेका थिए। तर, आन्दोलन अघि नै उनलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रवक्ता भट्टराईका अनुसार, प्रसाईँले ‘अभिव्यक्ति स्वतन्त्रता’ को नाममा व्यक्त गरेका अभिव्यक्तिले सार्वजनिक शान्ति भङ्ग हुने सम्भावना देखिएको हो। त्यसैले, सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत म्याद लिएर अनुसन्धान गर्न तयारी गरिएको भट्टराईले बताए।