निषेधाज्ञामा पनि शेयर बजार खुल्ने, शेयर कारोबार बन्द हुँदैनः नेप्से

निषेधाज्ञामा पनि शेयर बजार खुल्ने, शेयर कारोबार बन्द हुँदैनः नेप्से


बैकिङ्ग समाचार ।
काठमाडौंका तीन वटै प्रशासन आज राति मध्यराति १२ बजेदेखि लागू गरेको निषेधाज्ञाका कारण भोलिबाट राजधानी काठमाडौं लगभग ठप्प हुनेछ । उद्योग, कलकारखाना, पसल, अत्यावश्यक बाहेकका सरकारी र निजि दुवै कार्यालय बन्द हुनेछन् । 
शेयर कारोबार गर्ने निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार भोलिदेखि घोषणा गरिएको निषेधाज्ञामा शेयर कारोबार सुचारु हुनेछ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदका अनुसार यस पटकको निषेधाज्ञा तथा लकडाउनमा शेयर कारोबार बन्द नगर्ने योजनामा नेप्से रहेको छ । उनले भने, ‘ढुक्क भएर कारोबार गर्न तयार रहनु होला, नेप्सेको कारोबार खुल्छ ।’ 

नेप्सेका अनुसार जे जति सकिन्छ, ब्रोकर कम्पनीहरु खोलेर अनलाईन तथा म्यानुअल शेयर कारोबार गरिनेछ । यसअघि गत चैत्र ११ गतेदेखि झण्डै १०० दिन नेप्से बन्द भएको थियो ।

कोरोना भाइरसको कारण घोषणा गरिएको लकडाउनमा सबै सेवा ठप्प हुँदा नेप्सेमा शेयर कारोबार नगर्न शेयर लगानीकर्ताहरुले नै धितोपत्र बोर्डलाई दवाव दिएर कारोबार रोकिएको थियो । 

पछि पुनः खोल्नुपर्ने भन्दै आवाज उठाउन थालेपछि बोर्डले आगामी दिनमा शेयर बजार बन्द गर्ने माग कहिल्यै नगर्ने भन्ने बुँदा राखेर लगानीकर्ताहरुका नेताहरुलाई सही छाप गराईसकेको छ । 

सोही कारण पनि धितोपत्र बोर्डले यस पटक शेयर बजार बन्द गर्न निर्देशन नदिने अनुमान गरिएको छ । यद्यपि बोर्डले लिखित निर्देशन दिएमा भने शेयर कारोबार रोकिनेछ ।