जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रहरी प्रभाग बुङ्गमती भवन पुनर्निर्माण गरी हस्तान्तरण


काठमाडौं – गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षति पुगेको बुङ्गमती–९, भैंसेपाटीस्थित प्रहरी प्रभागको भवन पुनर्निर्माण गरी आज औपचारिक रूपमा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय समुदायको सक्रिय सहयोग र सहभागितामा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन गरिएको पुनर्निर्माण समितिले छोटो समयमै भवन निर्माण सम्पन्न गरी आजको कार्यक्रममार्फत प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो। 

भवन हस्तान्तरणका क्रममा ललितपुर जिल्ला प्रहरी प्ररिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले दुःखद घटनाबाट प्रभावित प्रहरी समुदायलाई पुनःस्थापित गर्न मन, वचन र कर्मले सहयोग गरेकोमा धन्यवाद प्रकट गरेका छन् । यस पुनर्निर्माण कार्य केवल भवन बनाउने काम होइन, यो सभ्य, शान्तिपूर्ण र समुन्नत समाज निर्माणतर्फको एक अमूल्य योगदान पुर्‍याएको उनले बताए । 

उनले स्थानीय तथा प्रहरीको सहकार्यमा सम्पन्न यो पुनर्निर्माण कार्यले घटना पश्चातको नोक्सानी कम गर्ने मात्र नभई समुदाय–प्रहरीबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।