मङ्गलको भरपर्दो आम्दानीको स्रोत च्याउखेती


कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन् । पाँच वर्षअघि ६० हजार रुपैयाँ लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सात वटा टनेल बनाएर च्याउखेती गरिरहेका छन् । 

बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उनले त्यसबाट मनग्य आम्दानी गरिरहेका छन् । चौधरीले भने, ‘पहिले ज्ञान, सीप कम थियो । ६ महिनामात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु । आम्दानी पनि राम्रै छ ।’ सात वटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने उनले सुनाए । हाल बजारमा च्याउ प्रतिकिलो १८० रुपैयाँका दरले बिक्री भइरहेको छ । चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताए ।

उनले भने,’बजारमा माग बढी छ । मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन । प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु । ‘चौधरीले च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताए । यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाई लेखाइ खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उनले जानकारी दिए । यसबाटै भएको कमाईबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरीले बताए । 

‘आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु’, चौधरीले भने, ‘हाल ज्यालादारीमा दैनिक आठ जनालाई रोजगारी दिएको छु । दैनिक प्रतिव्यक्ति रु छ सयदेखि ७०० सम्म ज्याला दिने गरेको छु ।’