भक्तपुर – तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलको मूल्य तेब्बरले वृद्धि भएको छ। आज लक्ष्मी पूजाको दिन सयपत्री फूल र माला एक साताअघि भन्दा तीन गुणासम्म महँगो दरमा बिक्री भइरहेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका किसानले एक साताअघि प्रतिकिलो ३०० रूपैयाँमा बिक्री गरेको सयपत्री फूल आज ७ सय रूपैयाँमा बिक्री गरेका छन्। व्यापारीहरूले सोही फूल बजारमा १ हजारसम्ममा बिक्री गरिरहेका छन्।
मध्यपुरथिमि नगरपालिका–५ का प्रकाश झालका अनुसार बजारमा सयपत्री फूलको माला प्रतिमाला १५ सय रूपैयाँमा बिक्री भइरहेको छ।राधेराधे सडक पेटीमा फूल बिक्री गरिरहेकी व्यापारी प्रमिला लामाका अनुसार काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट ल्याइएको फूलको मूल्य किसानहरूले नै बढाएपछि खुद्रा स्तरमा पनि मूल्य बढेको हो।
उनका अनुसार खुला रूपमा खेती गरिएको सयपत्री फूल प्रतिकिलो ८०० रुपैयाँ र टनेलमा उत्पादन गरिएको फूल १,३०० रुपैयाँमा बिक्री भइरहेको छ। टनेलमा उत्पादन भएका फूल लामो समय टिक्ने भएकाले तिनको मूल्य बढी रहेको उनले बताइन्। मखमली फूलको मूल्य पनि तीव्र रूपमा बढेको छ। दुई दिनमै मखमली मालाको मूल्य २५–३० रुपैयाँबाट बढेर १०० रुपैयाँ पुगेको छ।
गुण्डुका पुष्प व्यवसायीहरूका अनुसार त्यहाँका फूल गुणस्तरीय भएकाले माग बढी छ। किसानले सयपत्री फूल किलोको रु ४००–५०० मा बिक्री गर्दा उपभोक्तासम्म पुग्दा मूल्य तेब्बर बढेको बताइएको छ। पुष्प व्यवसायी अनिता बस्नेतका अनुसार यस वर्ष गुण्डुबाट मात्र करिब रु पाँच करोड बराबरको फूल र माला बिक्री भएको छ। उनका अनुसार एउटै परिवारले यस वर्ष रुपैयाँ एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको फूल र माला बिक्री गरेको छ।
गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र ३०० रोपनीमा सयपत्री फूल खेती भइरहेको छ। अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीका अनुसार व्यापारी र बिचौलियाबीच गाउँमै खरिद प्रतिस्पर्धा बढेपछि किसानले मूल्य बढाएका हुन्।
यससँगै लक्ष्मी पूजाका लागि आवश्यक भोगटे र बिमिरोको मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि भएको छ। भोगटे ६० रुपैयाँबाट बढेर १५० रुपैयाँमा र बिमिरो ३० रुपैयाँबाट बढेर १००–१५० रुपैयाँमा बिक्री भइरहेको छ। तिहारका लागि अत्यावश्यक फूल, माला, फलफूल र मसला सबैको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन्।



About Us
प्रतिक्रिया