एनसीसी बैंकको उत्साहजनक प्रगतीः विषम परिस्थितिमा पनि खुद नाफा ११ प्रतिशतले बढ्यो

एनसीसी बैंकको उत्साहजनक प्रगतीः विषम परिस्थितिमा पनि खुद नाफा ११ प्रतिशतले बढ्यो


बैकिङ्ग समाचार ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको कार्यसम्पादन कोरोनाको कहरका बावजुद पनि उत्साहजनक देखिएको छ । कोरोना कहरले ऋणी असुली प्रभावित बन्दा गत आर्थिक वर्षमा अधिकांश बैंकहरुको आम्दानी तथा नाफा घटेको भएपनि एनसीसी बैंकले भने बढाएको हो ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा १०.७५ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आवमा बैंकको वितरणयोग्य नाफा ६९ करोड ९९ लाख १७ हजार ९६४ रुपैयाँ रहेको छ। यसबाट बैंकले ७.४८ प्रतिशत मात्र लाभांश वितरण गर्न सक्दछ।

गत आर्थिक वर्षमा बैंकले जोखिम ब्यवस्थाका लागि करिब ३ गुणा धेरै रकम छुट्याएको छ ।

बैंकले गत आवमा ३२ करोड ८२ लाख रुपैयाँ जोखिम व्यवस्थावापत छुट्याएको छ । अघिल्लो आवमा बैंकले १२ करोड ७१ लाख रुपैयाँ सो शीर्षकमा छुट्याएको थियो ।

बैंकले गत आवमा ३ अर्ब २१ करोड खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २५ करोड रुपैयाँले धेरै हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवमा बैंकको खुद फि तथा कमिशन आम्दानी भने समान्य घटेको छ । त्यस्तै सञ्चालन नाफा २२ करोड घटेर १ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ।

हाल चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १२.०९ रुपैयाँ छ। बैंकको सञ्चित जगेडा कोषमा कोषमा २ अर्ब ९३ करोड ७८ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा बैंकले ७३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६५ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकले ६५ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

गत आवमा बैंकको खराब कर्जा अनुपात भने २.७९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४०.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.३८ गुणा छ । गत आवमा बैंकको कर्जा निक्षेप अनुपात ७४.८८ प्रतिशत, कोषको लागत (कष्ट अफ फण्ड) ६.४४ प्रतिशत, आधार दर ९.०३ प्रतिशत, स्प्रेड दर ३.८४ प्रतिशत र पूँजीकोष अनुपात १३.४० प्रतिशत रहेको छ ।