काठमाडौं – बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो दुई महिना (साउनदेखि भदौसम्म)मा सुनचाँदी धितो राखेर दुई अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सुनचाँदी धितोमा दिइएको कर्जा गत आर्थिक वर्षको सोही अवधिभन्दा २० करोड ४४ लाख कम छ । गत आवको पहिलो दुई महिनामा तीन अर्ब पाँच करोड यस्तो कर्जा प्रवाह भएको थियो । बैंक तथा वित्तीय संस्थालाई सुनचाँदी धितो कर्जाको सीमा ५० लाख पु¥याउनुपर्ने दबाबले कर्जा प्रवाह घटिरहेको बैंकरहरू जनाउँछन् ।
समग्रमा सुनचाँदी धितो कर्जा भने बढेको देखिन्छ । भदौसम्ममा सुनचाँदी धितोमा कुल कर्जा प्रवाह ८७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । असारसम्म यस्तो कर्जा प्रवाह ८४ अर्ब ८० करोड रुपैयाँ थियो ।
नेपाल राष्ट्र बैंकले एकल ग्राहकलाई ५० लाख रुपैयाँभन्दा बढीको कर्जा दिन नपाउने व्यवस्था गरेको थियो । गत वर्ष २९ पुसमा निर्देशनमार्फत यस्तो सीमा लगाएको थियो । सुनचाँदी धितोमा बढी कर्जा प्रवाह भएपछि केन्द्रीय बैंकले ०८३ असार मसान्तसम्ममा यो सीमा कायम राख्नुपर्ने भनेको छ । त्यसैले पनि बैंकहरूलाई लक्षित सीमाभित्र सुनचाँदी धितो कर्जा ल्याउनुपर्ने दबाब छ ।
कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्ने केन्द्रीय बैंकको व्यवस्था छ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितो स्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्छ । कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरू वा एकभन्दा बढी थैलीहरू राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने उल्लेख छ ।
बैंकको सुनको मूल्याङ्कनकर्ताले निर्धारण गरेको सुनका गहनाका लागि मूल्यको ७० प्रतिशतसम्म र बैंकको सुनको मूल्याङ्कनकर्ताले तोकेको राम्रो सुनको ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउँदै आइरहेका छन् । अधिकतम १ वर्ष अवधि रहने यस्तो कर्जा आवश्यक भएमा समय समाप्ति भएको मितिबाट प्रत्येक वर्ष नवीकरण गर्न सकिने व्यवस्था छ ।
सुनचाँदी धितो कर्जा विस्तारले अनौपचारिक क्षेत्रका सुनचाँदीलाई प्रणालीमा ल्याउन मद्दत पुग्ने देखिन्छ । सुनको मूल्य निरन्तर बढ्दै जाने प्रवृत्तिले बैंक तथा वित्तीय संस्थाको धितो जोखिममा पर्ने सम्भावना न्यून छ । तर, सुनचाँदीको बढ्दो मूल्यले उपभोगमा पार्ने असर र सुनचाँदी धितो कर्जा प्रवाहसम्बन्धी प्रभावकारी अध्ययन हुनुपर्ने जानकारहरू बताउँछन् ।





About Us
प्रतिक्रिया