काठमाडौं – नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि घर भाडामा लिने समय थप गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले घर भाडामा लिने प्रस्तावमा आवेदन दिन समय थप गरिएको जानकारी दिएको हो ।
गभर्नर पौडेलका चितवन र ललितपुर भैंसेपाटीस्थित दुई वटा घर ‘जेनजी आन्दोलन’का क्रममा आगजनीमा परेपछि राष्ट्र बैंकले घर भाडामा लिन गत १२ गते सूचना प्रकाशित गरेको थियो । जसमा असोज २७ गतेसम्म आवेदन दिने समय तोकिएकोमा बढाएर कात्तिक १६ गतेसम्म लम्ब्याइएको छ। राष्ट्र बैंकले ललितपुरको बखुन्डोलदेखि भैंसेपाटी क्षेत्रभित्र पर्ने, १६ आनादेखि २४ आनासम्मको जग्गामा बनेको, कम्तीमा ६ वटा सवारीसाधन पार्किङ गर्न सकिने, उपयुक्त घर भाडामा लिन चाहेको जनाएको छ।
घर आरसीसी स्ट्रक्चरमा बनेको, कम्तीमा १,००० वर्गफिट पिलिन्थ क्षेत्रफल भएको, एउटा मास्टर बेडरुमसहित कम्तीमा ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल, स्टोररुम रहेको, साथै सुरक्षाकर्मीका लागि छुट्टै भवन भएको हुनुपर्ने मापदण्ड तोकिएको छ। साथै, घर सुरक्षित कम्पाउन्डवाल, कालोपत्रे सडकसँग जोडिएको, र बिजुली, ढल निकास तथा खानेपानीको पूर्वाधारयुक्त हुनुपर्ने लगायतका मापदण्ड तोकेको छ ।





About Us
प्रतिक्रिया