काठमाडौं – नेपाल राष्ट्र बैंकले सुन आयात र रेमिट्यान्स कारोबारको कोटा बढाएको छ । अब दैनिक २५ किलोसम्म सुन आयात गर्न र २५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन सकिने बनाएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार जारी गरेको परिपत्रअनुसार अब वाणिज्य बैंकहरूले पहिलेको सीमाभन्दा बढी सुन आयात गर्न पाउनेछन्। पहिले दैनिक २० किलोसम्म मात्र सुन आयात गर्न पाइन्थ्यो । अब यो सीमा २५ किलोमा बढाइएको हो।
त्यस्तै, विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको सीमा पनि २० लाखबाट बढाएर २५ लाख रुपैयाँसम्म पुर्याएको छ। यो रकमलाई एकपटकमा वा पटक–पटक गरी ल्याउन सकिनेछ।
विदेशी नागरिक वा नेपालमा दर्ता भएका कम्पनी, संस्था वा शाखा कार्यालयहरूले कमिशन, पारिश्रमिक, शुल्क वा अन्य प्रयोजनका लागि विदेशबाट आएको रकम इजाजतपत्र प्राप्त रेमिट्यान्स कम्पनीमार्फत सीधै आफ्नै खातामा जम्मा गर्न सक्नेछन्। राष्ट्र बैंकले सबै विप्रेषण कम्पनीलाई ग्राहकका कागजातहरू सही रूपमा राख्नुपर्ने र महिनामा एकपटक कारोबारको विवरण पेस गर्नुपर्ने व्यवस्था पनि गरेको छ।





About Us
प्रतिक्रिया