सानिमा बैंकको नाफा २४.५६% ले घट्यो, लाभांश वितरण क्षमता कति ? 

सानिमा बैंकको नाफा २४.५६% ले घट्यो, लाभांश वितरण क्षमता कति ? 


बैकिङ्ग समाचार । 
सानिमा बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ रहेको बैंकले १ अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ५६ लाख ९३ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरी २०.३२ प्रतिशत लाभांश क्षमता कायम गरेको थियो।

असार मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब ७० करोड ३३ लाख ७४ हजार रुपैयाँ छ। बैंकले कमाएको यो खुद नाफा अघिल्लो आवको तुलनामा २४.५६ प्रतिशत कम हो। अघिल्लो आवमा बैंकले २ अर्ब २५ करोड ८० लाख खुद नाफा कमाएको थियो। कारोना भाइरस संक्रमण रोक्न सरकारले गरेको ४ महिने लकडाउन र ऋणीहरुलाई प्रदान गरिएको सुविधाका कारण बैंकको ऋण असुली प्रभावित बन्दा नाफा घट्न पुगेको हो।

गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा बैंकले निक्षेप संकलन १९.५४ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानीतर्फ ११.२३ प्रतिशत वृद्धि भई ९० अर्ब ५६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर ४ अर्ब २१ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा खुद ब्याज आम्दानी ४ अर्ब २० करोड ८६ लाख रुपैयाँ रहेको थियो।

बैंकको जगेडा कोष भने २६.३३ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ५६ लाख पुगेको छ भने शेयरधनी कोषमा १ अर्ब ११ करोड रूपैयाँ सञ्चित छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९.२५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४४.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.०५ गुणा, र खराब कर्जा अनुपात ०.४८ प्रतिशत रहेको छ।

सानिमा बैंकको कोषको लागत ६.६६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.७२ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र स्प्रेड दर ३.४७ प्रतिशत रहेको छ। ।