एनएमबि बैंकको वितरण योग्य नाफा १२ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब २७ करोड

एनएमबि बैंकको वितरण योग्य नाफा १२ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब २७ करोड


बैकिङ्ग समाचार । 
एनएमबि बैंकले गत आर्थिक वर्ष ०७६/०७७ मा वितरण योग्य नाफा झण्डै १२ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । ओम डेभलपमेन्ट बैंकलाई गाभेको बैंकका अधिकांश सूचकमा सुधार देखिएको छ ।

बैंकले गत आर्थिक वर्ष ०७६/०७७ मा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ०.५९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकको नाफा २ अर्ब २५ करोड थियो । ओम डेभलपमेन्टलाई गाभेको बैंकको नाफा मात्र २ करोडले बढेको हो ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ११.९३ प्रतिशतले बढेको छ । बैंकको वितरण योग्य नाफा एक अर्ब ४२ करोड छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरण योग्य नाफा एक अर्ब २७ करोड रुपैयाँ रहेको थियो। बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.२२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी बढ्दा उसको नाफा बढ्न सहयोग पुगेको हो। बैंकले असार मसान्तसम्ममा ५ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ३० प्रतिशत अर्थात १ अर्ब २८ करोड रुपैयाँ धेरै हो। बैंकको सञ्चालन नाफा भने २५ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको संचालन नाफा २ अर्ब ४३ करोड छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.७३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा, मूल्य आम्दानी अनुपात २३.२७ गुणा, पूँजीकोष अनुपात १४.५६ प्रतिशत र कोषको लागत ७.९९ प्रतिशत रहेको छ। असार मसान्तसम्ममा बैंकको आधारदर ८.९५ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ७२.६८ प्रतिशत तथा स्प्रेडदर ४.०५ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी, आधारदर , स्प्रेडदर तथा कोषको लागत भने घटेको छ ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आवको अन्त्यसम्ममा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। ओमलाई गाभेपछि बैंकको निक्षेप साढे ३४ तथा कर्जा पौने ३१ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको तुलनामा बैंकको खराब कर्जा अनुपात बढेको छ। अघिल्लो आवको असार मसान्तमा ०.८२ प्रतिशत रहेको खराब कर्जा बढेर २.६८ प्रतिशतमा पुगेको छ।

चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने रिटेन अर्निङमा ९६ करोड ४० लाख रुपैयाँ छ । बैंकको ईम्पेरिमेन्ट चार्ज एक अर्ब ६१ करोड छ ।