काठमाडौं – नेपाल राष्ट्र बैंकले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबाट प्रभावित व्यवसायी ऋणीलाई राहत दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको हो ।
यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्नेछ भने उपर्युक्तबमोजिम पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।
यस्तै, केन्द्रीय बैंकले जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग फरवार्ड लिंकेज भएका ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी ऋणीले बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुल उपर गरी रही कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको हो ।
यसैगरी, रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित संस्थाले व्यवसायमा परेको प्रभावको यकिन गरी कर्जाको पुनरतालिकीकरण गर्न सकिने बताएको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने उल्लेख गरेको छ । यता, जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।





About Us
प्रतिक्रिया