नेपाल इन्भेष्टमेन्ट बैंकको प्रगतिमा कोरोनाको धक्का, नाफा २ अर्ब ५७ करोड हुँदा बाँड्न मिल्ने ६५ करोड मात्रै 

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रगतिमा कोरोनाको धक्का, नाफा २ अर्ब ५७ करोड हुँदा बाँड्न मिल्ने ६५ करोड मात्रै 


बैकिङ्ग समाचार ।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्ष करिब २३ प्रतिशतले मुनाफा घटेको वित्तीय बिबरण सार्वजनिक गरेको छ। बैंकले कोरोनाका कारण भारि मात्रामा प्रोभिजन गर्नुपर्दा त्यसको असर मुनाफामा मात्रै नभई वितरण योग्य मुनाफामा समेत गम्भीर धक्का लागेको विवरण सार्वजनिक गरेको छ। 

अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०७६/७७ मा बैंकको मुनाफा २२.६४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक बर्ष ३ अर्ब ३२ करोड मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक बर्ष २ अर्ब ५७ करोड मात्रै नाफा गरेको छ भने १ अर्ब ८८ करोड प्रोभिजन गरेको छ।  

बैंकको मुनाफा २ अर्ब ५७ करोड भएपनि सेयरधनीलाई बाँड्न मिल्ने मुनाफा ६५ करोड २३ मात्रै छ। यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ।

बैंकको मुख्य आम्दानीको रुपमा लिईने ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा करिब १ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक बर्ष ६.६९ प्रतिशत रहेकोमा गत आर्थिक बर्ष खुद ब्याज आम्दानी मात्रै ५.७६ प्रतिशतमा खुम्चिएको छ। यस अवधिमा बैंकको संचलान मुनाफा समेत १२.३ प्रतिशतले घटेर ३ अर्ब ६३ करोडमा सिमित भएको छ। 

यस अवधिमा बैंकको निक्षेप ११.३६ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १०.२५ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब पुगेको छ। त्यस्तै चुक्ता पुंजी १४ अर्ब २४ करोड रहेको छ भने रिजर्भमा १३ अर्ब ७ करोड छ। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशतबाट बढेर २.९१ प्रतिशतमा उक्लिएको छ। त्यस्तै प्रति सेयर आम्दानी १८ रुपैयाँ ५ पैसा, प्रति सेयर नेटवर्थ १९१ रुपैयाँ ७४ पैसा र मुल्य आम्दानीको अनुपात २३.८८ गुणा छ।