हिमालयन बैंकको नाफा २ अर्ब ५४ करोड, वितरण योग्य मुनाफा १ अर्ब ३० करोड

हिमालयन बैंकको नाफा २ अर्ब ५४ करोड, वितरण योग्य मुनाफा १ अर्ब ३० करोड


बैकिङ्ग समाचार ।
हिमालयन बैंकले गत आर्थिक वर्ष ०७६/०७७ मा २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ। बैंकको नाफा अघिल्लो २२ करोड अर्थात ८ प्रतिशत कम हो ।

बैंकले अघिल्लो आवमा २ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३० करोड रुपैयाँ छ। यो नाफा अघिल्लो आवको तुलनमा ३५ प्रतिशतले घटेको हो।

बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा घटेपछि खुद नाफामा कमी आएको हो । बैंकको इम्पेरिमेन्ट चार्ज समेत बढेको छ । यसअवधिमा बैंकले खराब कर्जा भने सामान्य घटाउन सफल भएको छ ।

असार मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप साढे १४ तथा कर्जा साढे ९ प्रतिशतले बढेको हो। गत आवको अन्त्यसम्ममा बैंकले ४ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा साढे ५ प्रतिशत कम हो ।

बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा गिरावट आएकोे छ। ९ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १३ पैसा छ। यो गत आवको सोही अवधिको तुलनामा ५ रुपैयाँ ३१ पैसा कम हो। बैंकको जगेडा कोषमा ६ अर्ब ६६ करोड रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब ५ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १९.९१ गुणो छ। बैंकको निष्क्रिय कर्जा १.०१ प्रतिशत रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १४.६७ प्रतिशत र कोषको लागत ६.१८ प्रतिशत रहेको छ। असार मसान्तसम्ममा बैंकको आधारदर ८.३८ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ६८.८५ प्रतिशत छ ।