सिभिल बैंकको कर्जा लगानी २० प्रतिशतले बढ्यो, नाफा घट्यो 

सिभिल बैंकको कर्जा लगानी २० प्रतिशतले बढ्यो, नाफा घट्यो 


बैकिङ्ग समाचार ।   
कोभिड –१९ कारण कर्जा प्रवाह शुन्य स्थितीमा पुगेको बेलामा पनि  सिभिल बैंकले कर्जा लगानीलाई उल्लेख्य मात्रामा बढाउन सफल भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा ८.९१ अर्ब कर्जा विस्तार गर्न सफल भएको छ जुन पछिल्लो आर्थिक वर्षको  तुलनामा २०.९३ प्रतिशतले वृद्धि हो । यस्तै बैंकको खुद मुनाफा अघिल्लो आबको तुलनामा ३५ प्रतिशतले घटेर ४९ करोडमा सीमित भएको छ ।

त्यस्तै बैंकले आर्थिक वर्ष २०७६/७७ मा १३.०८ अर्बले निक्षेप वृद्धि गरेको छ जुन अघिल्लो आवको तुलनामा २७.०८ प्रतिशतले वृद्धि हो ।

नेपाल राष्ट्र बैंकको निर्देशानुसार सिभिल बैंकले पनि कोभिड –१९ ले प्रभावित ऋणीहरुले चैत्र महिनामा भुक्तानी गरेको किस्ताको व्याज रकममा १० प्रतिशतले छुट प्रदान गरेको तथा चौथो त्रैमासमा कायम रहेको व्याजदरमा २ प्रतिशत घटाएको हुनाले ब्याज आम्दानी घटेको देखिन्छ ।

बैंकले चैत्रको ब्याज रकममा करिब ८० लाख तथा चौथो त्रैमासमा करिव १५.७४ करोड ब्याज छुट प्रदान गरेको छ । त्यस्तै, बन्दाबन्दीका कारण कर्जाको माग घटेको र प्रतितपत्र, ग्यारेन्टी आदिको कारोबारमा गिरावट आएको कारण सेवा शुल्क, कमिशन आम्दानी घटेको तथा विपे्रषण, एटिएम, डिजिटल बैंकिङ्ग आदिबाट प्राप्त हुने आम्दानी पनि नेपाल राष्ट्र बैंकको निर्देशानुसार मिनाहा गरिएको छ ।

साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार पौषमा असल वर्गमा रहेको ऋणीको ब्याज असार मसान्त सम्ममा चुक्ता नभएमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने हुनाले समेत बैंकको कर्जा नोक्सानी व्यवस्था उल्लेख्य मात्रामा बढेको छ । 

बैंकले अघिल्लो आर्थिक वर्ष देखि अक्रामक रुपमा शाखा विस्तार गर्दै आएकोले कर्मचारी खर्च तथा संचालन खर्चमा उल्लेख्य वृद्धि भएको छ । 

सिभिल बैंकले आ.व. २०७५/७६ को जेष्ठ महिना देखि हालसम्म (१४ महिनामा) ४१ वटा नयाँ शाखा संचालनमा ल्याएको र सोही अनुसार कर्मचारी संख्या पनि वृद्धि गरेको कारण कर्मचारी खर्च तथा संचालन खर्च बढ्न गएको देखिन्छ । 

बैंकको कर्मचारी खर्च अघिल्लो आबको तुलनामा २८ प्रतिशतले वृद्धि भएको छ भने कुल सञ्चालन खर्च ६ प्रतिशतले वृद्धि भएको छ ।