नेपाल बङ्गलादेश नाफा घट्यो, अन्य सुचक कस्ता ?

नेपाल बङ्गलादेश नाफा घट्यो, अन्य सुचक कस्ता ?


बैकिङ्ग समाचार ।

नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ३४ करोड ३३ लाख रुपैयाँले घटेको हो।

 बैंकको खराब कर्जा अनुपात १.१५ प्रतिशतले बढेर २.८९ प्रतिशत पुग्दा सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम ३४ करोड ९२ लाख बढेर ७९ करोड ६४ लाख ७९ हजार रुपैयाँ व्यवस्था गरेको छ। 

बढ्दो कर्मचारी, सञ्चालन खर्च र नोक्सानी व्यवस्थाको कारण बैंकको नाफा साढे २१ प्रतिशतले घटेको हो।

वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब ४३ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ९६ करोड ६५ लाख कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ करोड १८ लाख रुपैयाँ घटेर २ अर्ब ८४ करोड ४७ लाख ३६ हजारमा सीमित भएको छ।

बैंकको सञ्चालन नाफा पनि समीक्षा अवधिमा २० प्रतिशतले घटेर १ अर्ब ८० करोड ५ लाखमा संकुचित बनेको छ।

अघिल्लो आवबाट ५ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १५.०१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५४.१५ रुपैयाँ, कोषको लागत ६.३७ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र मूल्य आम्दानी अनुपात १३.९२ गुणा कायम भएको छ।

गत आवमा बैंकको वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ। यसबाट बैंकले ५.२९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम भएको छ।

यस अवधिसम्ममा बैंकको जगेडा कोष ७९ करोड ३४ लाख बढेर ४ अर्ब ११ करोड २२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोष भने अघिल्लो आवको लाभांश वितरणपछि ५२ करोड १४ लाख घटेर ४८ करोड ८३ लाख रुपैयाँमा रहेको छ।